धनकौल गाउँपालिकाको गाउँसभा आज, विष्णुको अझै अनिश्चित

धनकौल – सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने धनकौल गाउँपालिकाको नवौं गाउँसभा आज प्रारम्भ हुँदै छ ।

आज मध्यान्ह मधेश प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा गाउँसभाको उद्घाटन गर्न लागिएको गाउँपालिका अध्यक्ष रामआश्रय साहले जानकारी दिए । जिल्लाका अन्य १८ वटा पालिकाले असार १० भित्रै गाउँ तथा नगरसभा गरेपनि धनकौल र विष्णु गाउँपालिकाले गाउँसभा गर्न बाँकी छ ।

एक जना वडाध्यक्ष बिरामी भएर काठमाण्डौं जानुपरेको र अर्का एक जना वडाध्यक्ष विवाहको कार्यक्रममा व्यस्त हुनु परेकाले असार १० गतेभित्रै गाउँसभा गर्न नसकिएको धनकौल गाउँपालिकाका अध्यक्ष साहले बताएका छन् ।

उता, जिल्लाको दक्षिणी भेगस्थित भारतीय सीमावर्ती क्षेत्रमा पर्ने विष्णु गाउँपालिकाको गाउँसभा भने अझै तय भइसकेको छैन् । विष्णु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जिव सापकोटाले असार मसान्तभित्रै नीति तथा कार्यक्रम र बजेट पारित गर्ने गरी केही दिनभित्रै गाउँसभाको मिति तय गरिने जानकारी दिए ।