जनज्योति माध्यमिक विद्यालयको पठनपाठन बन्द

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित जनज्योति माध्यमिक विद्यालयका शिक्षकहरुले विद्यालयको पठनपाठन अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् ।

केही व्यक्तिहरु विद्यालयमै आएर पटक–पटक गाली गलौच गरेको भन्दै आइतबार बसेको शिक्षक तथा कर्मचारीहरुको बैठकले सोमबार (आज) देखि विद्यालयमा पठनपाठन नगराउने निर्णय गरेको हो । विद्यालयमा ८ कोठे कक्षा कोठा भवनको निर्माणको विषयमा केही व्यक्तिले पटक–पटक विद्यालयमा आएर शिक्षकहरुलाई गाली गलौच गर्ने र डोजर लगाएर विद्यालय भवन भत्काउने सम्मको प्रयास गरेको शिक्षकहरुको भनाई छ ।

जनज्योति माविको कम्पाउण्ड भित्र पर्ने जग्गाको विषयमा पछिल्लो समय निकै विवाद भइरहेको छ । विद्यालय भवन निर्माण भइरहेको एैलानी जग्गा एक व्यक्तिको नाममा मोही देखिएको छ । मोही महलमा आफ्नो नाम रहेको भन्दै ती व्यक्तिले सो जग्गा आफूले भोगचलन गर्न पाउनुपर्ने र विद्यालय भवन बनाउन नदिने बताउँदै आएका छन् ।

यो विवादको विषय नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा पुगेपनि समाधान हुन सकेको छैन् ।