लालबन्दी नगरपालिकाले ल्यायो एक अर्ब २५ करोडको बजेट

लालबन्दी नगरपालिकाको आठौं नगरसभा उद्घाटन समारोह ।

लालबन्दी – जिल्लाको लालबन्दी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार नगरपालिकाको आठौं नगरसभामा नगरप्रमुख बासुदेव अधिकारीले एक अर्ब २५ करोड पाँच लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा सशर्ततर्फ ७३ करोड २२ लाख रुपैयाँ र निशर्ततर्फ ५१ करोड ८३ लाख ४४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाको कूल बजेटमध्ये अधिकांश बजेट संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रहेको छ । निशर्त प्रकृतिका बजेटबाट नगर चालू कार्यक्रम खर्च, भुक्तानी बाँकी कार्यक्रमहरु, विषयगत क्षेत्रका कार्यक्रमहरु र क्रमागत तर्फको कार्यक्रममा आवश्यक रकम विनियोजन गरी बाँकी बजेटबाट नगर र वडा स्तरीय बजेट निर्माण गरिने उल्लेख गरिएको छ ।

नगरप्रमुख अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि प्रविधि र प्राविधिक उत्पादन गर्न उष्ण प्रदेशीय बागवानी केन्द्र र तेलबाली अनुसन्धान केन्द्रसँग समन्वय गरी कृषि क्याम्पसको स्थापनाको पूर्वाधार विकास गरी सम्वन्धित विश्वविद्यालयबाट सम्वन्धन लिने व्यवस्था मिलाइने, लालबन्दी नगरपालिकाका बर्थिङ सेन्टरमा प्रसुति हुने महिलालाई पाँच हजारका दरले सुत्केरी खर्च उपलब्ध गराउने, नगरपालिकाको विकासको मुख्य व्यापारिक नाका विस्तार गर्न बी.पी. राजमार्गसम्म पहुँच सुनिश्चित गर्न लालबन्दी–मरिण सडक निर्माण कार्यलाई द्रुतरुपमा अगाडि बढाउन केन्द्र सरकारसँग ठोस पहलदकमी लिने, प्राथमिक स्वास्थ्य केन्द्रमा एम.डी. डाक्टरको सेवा सूचारु गरिने र पोष्टमार्टमको समस्यालाई निराकरण गर्न लालबन्दीको प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

यस्तै, नगरपालिकाभित्र लामो समयदेखि ऐलानी पर्ति जग्गामा बसोवास गरिरहेका घरपरिवारलाई जग्गाधनी पूर्जा वितरण गरिने, मनमोहन मेमोरियल सामुदायिक अस्पतालको भवन निर्माण कार्य सुरु गर्ने, रानिगञ्जमा नगरस्तरीय १५ शैय्याको अस्पताल निर्माणको प्रक्रिया सुरु गरिने, नगरपालिका क्षेत्रका अधिकतम् बस्तीहरुलाई जोडने हरित चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बमोजिमको कार्य शुभारम्भ गर्ने प्रमुख नीतिहरुमा प्रस्तुत गरिएको छ ।