हरिपुर, कविलासी र पर्साले बजेट ल्याए, बाँकी पालिकाले भोली ल्याउने

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाको दशौं नगरसभा बिहीबारबाट प्रारम्भ भएको छ ।


नगरसभाको नगरप्रमुख गोपाल पंजियारको अध्यक्षता, संविधान सभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यता र अर्का संविधान सभा सदस्य रन्जना सरकारको विशिष्ट आतिथ्यतामा उद्घाटन गरिएको हो । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर सभा प्रारम्भ गरिएको हो ।


नगरसभामा ५० करोड ४७ लाख ६४ हजार ९०० बराबरको बजेट प्रस्तुत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिए । उनका अनुसार प्रत्येक वडालाई १ करोड १ लाख ४० हजारका दरले बजेट प्रदान गरिएको छ ।


त्यस्तै, स्वास्थ्यमा २ करोड ६० लाख र शिक्षामा २ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गर्दै छोरी बीमा, ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा, गरिब तथा अतिविपन्न छात्रछात्रालाई छात्रबासको व्यवस्थासहित अध्ययन गराउने र कृषि मिटरको ८० प्रतिसत रकम नगरपालिकाले बेहोर्ने गरी कार्यक्रम ल्याइएको छ ।

यस्तै, जिल्लाको कविलासी नगरपालिकाको पनि बिहीबार सातौं नगरसभा सुरुवात भएको छ । नगरप्रमुख ब्रम्हदेव रायको अध्यक्षतामा आयोजित नगर सभामा ५७ करोड ७७ लाख ४६ हजार २९ रुपैयाँ २९ पैसा बराबरको बजेट प्रस्तुत गरिएको छ ।

यस्तै, पर्सा गाउँपालिकाको ११ औँ नीति तथा कार्यक्रम बिहीबार नै प्रस्तुत भएको छ । गाउँसभामा गाउँपालिकाका अध्यक्ष धीरेन्द्र रायले ३० करोड २६ लाख ५८ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् ।

जिल्लाका अन्य बाँकी १७ वटा पालिकाहरुले भने भोली (शुक्रबार) गाउँ तथा नगर सभा सुरु गर्ने तयारी गरिरहेका हाम्रा संवाददाताहरुले जनाएका छन् ।