हरिवन झडप घटना : प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने सहमती

झडप प्रतिकात्मक तस्बिर ।

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११, बालगंगास्थित मुुस्लिम टोलमा मंगलबार राती भएको झडपको घटनाका विषयमा प्रहरीलाई अनुसन्धान गर्न सहयोग गर्ने सहमती भएको छ ।


एक घरको छानोबाट अर्को घरको आँगनमा वर्षातको पानी झरेको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो । झडपमा एक दर्जन बढी मानिस घाइते भएका थिए ।


पुनः झडपको स्थिति सिर्जना हुन नदिन र वातावरण सामान्य बनाउन बुधबार दिउँसो इलाका प्रहरी कार्यालय हरिवनमा छलफल भएको छ । सो छलफलले प्रहरीलाई घटनाको सम्वन्धमा अनुसन्धान गर्न दिने र दोषी देखिएकालाई कारवाहीका लागि सबैले सहयोग गर्ने सहमती भएको छलफलमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।


छलफलमा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल), जिल्ला प्रहरी कार्यालय मलंगवाका डीएसपी माधवप्रसाद बुढाथोकी, अन्य सरोकारवाला र झडपमा संलग्न दुवै समूहका प्रतिनिधिलगायत सहभागी भएका थिए । स्रोतका अनुसार झडपको घटनालाई राजनीतिक विषय बनाइँदा समस्या उत्पन्न भएको छ ।


झडपको घटनापछि मंगलबार मध्यरातमा एक समूहले हरिवनमा २ घन्टा भन्दा बढी पूर्व–पश्चिम राजमार्ग बन्द गराएको थियो । झडपमा घाइते भएकाहरुमध्ये गम्भीर अवस्थाका ४ जनालाई थप उपचारका लागि बुधबार बिहान वीरगन्ज रेफर गरिएको छ ।


अन्य ७ जना घाइतेको हरिवनकै नमूना र स्वाभिमान अस्पतालमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । केही सामान्य घाइतेहरु भने डिस्चार्ज भएर घर गइसकेका छन् ।