सर्लाहीमा स्वास्थ्य संस्थामा प्रसुति गराउने ५७ प्रतिसत, बाँकी घरमै

मलंगवा – सर्लाहीमा अहिले पनि झण्डै आधाजसो गर्भवतीले घरमै बच्चा जन्माउने गरेको पाइएको छ ।

जिल्लामा स्वास्थ्य संस्थामा हुने प्रसुति दर ५७ प्रतिसत मात्रै छ । बाँकी ४३ प्रतिसत गर्भवतीले घरमै बच्चा जन्माउँछन् ।

सरकारले स्वास्थ्य संस्थामै गएर सुरक्षितसँग प्रसुति गराउन आग्रह गर्दै आइरहेको छ । सर्लाहीमा विशेष गरी उत्तरी चुरेगका विकट बस्तीमा सवारीको अभावमा र ग्रामीण भेगका केही समुदायमा रुढीवादी प्रथाका कारण घरमै प्रसुति गराउने प्रवृत्ति छ ।

मंगलबार सदरमुकाम मलंगवामा पत्रकारहरुसँग परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुसम्वन्धि अन्तक्र्रियामा स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डा. नवलकिशोर झाले घरमै प्रशुति गराउने अर्थात् बच्चा जन्माउने दर घटाउन कार्यालयको तर्फबाट स्थानीय तह, स्वास्थ्य चौकी, बर्थिङ सेन्टरलगायतसँग समन्वय गरी काम गरिरहेको सुनाए । डा. झाले आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षित हुने भएकाले स्वास्थ्य संस्थामा गएर दक्ष स्वास्थ्यकर्मीसँग समन्वय गरी प्रशुति गराउन आग्रह पनि गरेका छन् ।

स्वास्थ्य कार्यालयको आयोजना तथा वुद्ध हेल्थ प्रमोशन एण्ड एजुकेशन सेन्टर राजविराजको सहयोगमा भएको अन्तक्र्रिया कार्यक्रम डा. झाकै अध्यक्षता तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अन्तक्र्रियामा जिल्लाभरका संचारकर्मी उपस्थित थिए ।

सर्लाहीमा सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल र जिल्लाभरका ३६ वटा बर्थिङ सेन्टरमा प्रसुति सेवा दिइन्छ । नेपालमा नवजात शिशु मृत्युदर प्रति एक हजारमा २१ वटा र मातृ शिशु मृत्युदर प्रति एक लाखमा २३९ रहेको छ ।

सरकारले सन् २०३० सम्ममा शिशु मृत्युदर प्रति एक हजारमा १२ र मातृ मृत्युदर प्रति एक लाखमा ७० मा झार्ने लक्ष्य लिएको छ ।