जिससका पदाधिकारी र सदस्यको शपथ आज, आजैदेखि कार्यभार सम्हाल्ने

जिसस प्रमुखमा निर्वाचित काैशल किशाेर सिंह (बायाँ) र उपप्रमुखमा निर्वाचित जीतेन्द्र कुमार महताे । (दायाँ)

मलंगवा – जिल्ला समन्वय समिति सर्लाहीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई आज (आइतबार) प्रमाण–पत्र वितरणसहित शपथ ग्रहण गराइँदै छ ।

जिससको निर्वाचन कार्यक्रम अनुसार आज मतदानको समय छुट्याइएको थियो । तर, अस्ती शुक्रबार नै प्रमुख, उपप्रमुख र बाँकी ७ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । मनोनयनको दिन नेपाली कांग्रेस र माओवादी केन्द्रको गठवन्धनका उम्मेदवारले मात्रै मनोनयनपत्र दर्ता गराएपछि उनीहरु नै निर्विरोध निर्वाचित भएका हुन् ।

जिससको प्रमुखमा कांग्रेसका कौशलकिशोर सिंह र उपप्रमुखमा माओवादी केन्द्रका जीतेन्द्र कुमार महतो निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा कांग्रेसबाट रामबहादुर बोम्जन, अलाउँदिन मियाँ, रामशिला कुमारी यादव, रेखादेवी साह, पासवती देवी थरुनी र सोनावती देवी तथा माओवादी केन्द्रबाट हेम कार्की चयन भएका छन् ।

निर्वाचित जिसस प्रमुख, उपप्रमुख र सदस्यहरुलाई प्रमाण–पत्र वितरणपछि शपथ ग्रहण गराइने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिए । जिसस प्रमुख सिंहलाई सर्लाही जिल्ला अदालतका मुख्य न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले शपथ ग्रहण गराउने छन् । त्यसपछि प्रमुख सिंहले उपप्रमुख र बाँकी ७ जना सदस्यहरुलाई शपथ ग्रहण गराउने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुजेलले बताए ।

शपथग्रहण लगत्तै आज नै प्रमुख, उपप्रमुख र सदस्यहरुले पदभार समेत ग्रहण गरी कार्यभार सम्हाल्ने बुझिएको छ ।