कांग्रेसबाट जिससको सभापतिमा कौशलकिशोर सिंहलाई टिकट

मलंगवा – लामो विवादपछि नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति (जिसस) सर्लाहीको सभापतिमा नेता कौशलकिशोर सिंहले टिकट पाएका छन् ।

सिंहले नेकपा माओवादी केन्द्रसँग तालमेल गरी मलंगवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भर्खरै उम्मेदवारी समेत दर्ता गराईसकेका छन् । बलरा नगरपालिकाको मेयरमा पराजित भएका सिंह माओवादी केन्द्रसँग नै तालमेल गरी कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।

जिससको सभापतिमा पार्टीका पूर्व केन्द्रीय सदस्य जंगिलाल रायका भाई जगर्नाथ रायले समेत दावी गरेपनि प्रदेश समितिले अन्तिममा सिंहलाई टिकट दिएको हो । सिंहलाई जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको साथ थियो ।

कांग्रेस सर्लाहीका सभापति सिंहले सभापतिमा उम्मेदवारी दर्ता भइसकेको र अन्यको दर्ता हुनेक्रममै रहेको उज्यालो अभियानसँग बताए । सिंहका अनुसार कांग्रेसले सभापतिसहित ६ सदस्य र माओवादीले उपप्रमुखसहित १ सदस्य लिने गरी तालमेल भएको हो । जिल्ला समन्वय समितिमा सभापति, उपसभापतिसहित ९ जना सदस्य रहने छन् ।

जिल्ला समन्वय समिति गठनका लागि कांग्रेस एक्लैलाई बहुमत भएपनि उसले माओवादी केन्द्रसँग तालमेल गरेको हो । ४० मतमध्ये कांग्रेससँग २३ मत छ भने माओवादी केन्द्रसँग ८ मत रहेको छ । जसपासँग ४, एमालेसँग ३ र लोसपासँग २ मत छ ।

जिल्ला समन्वय समितिको निर्वाचन अन्तर्गत अहिले दिउँसो १ बजेसम्म मनोयनन दर्ता हुँदै छ ।