प्राधिकरणद्वारा बक्याैता नतिर्ने ग्राहककाे विद्युत काट्न सूरु

लालबन्दी – सर्लाहीमा नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि महशुल नबुझाउने ग्राहकको लाईन धमाधम काट्न थालेको छ ।

जिल्लाको लालबन्दी, मलंगवा र बरहथवामा रहेका प्राधिकरणको वितरण केन्द्रहरुले एकसाथ लाईन काट्न थालेका हुन् । सोहीक्रममा लालबन्दी वितरण केन्द्रले बुधबार एकैदिन ७६ जना ग्राहकको लाईन काटिदिएको जनाएको छ ।

बक्यौता रकम तिर्न बारम्बार ताकेता गर्दा पनि बेवास्ता गर्ने लालबन्दी क्षेत्रका ४१ र हरिवन क्षेत्रका ३५ जना ग्राहकको लाईन काटिएको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिव कुमार साहले जानकारी दिए । बाँकी बक्यौता नर्तिदासम्म ती ग्राहकको लाईन अब नजोडिने प्राधिकरणले जनाएको छ ।

सर्लाहीमा अत्यधिक विद्युत चोरीसहित बक्यौता रकम पनि धेरै बाँकी रहेको छ । विद्युत चुहावट अर्थात् चोरी अत्यधिक रहेको मलंगवा वितरण केन्द्रले दिनहुँजसो हुकिङ हटाउने अभियान संचालन गरी हुक लगाएर चलाइएका विद्युतीय सामग्रीहरु बरामद गरिरहेको छ । जिल्लामा उत्तरी भेगको तुलनामा दक्षिणी भेगमा विद्युत चुहावट धेरै रहेको प्राधिकरणका कर्मचारीहरुले बताएका छन् ।