उज्यालो छर्दै टम बहादुर : बेसहारा ‘विरु भाई’ शिरमा भादगाउँले टोपी ढल्काउँदै विद्यालय जान थाले

विद्यालय पोशाक सहित काखीमा किताब च्यापेर गोर्खा एकेडेमी पुगेका विरु घिसिङसँगै वडाध्यक्ष टम बहादुर घिसिङ ।

हरिवन – शिरमा खुकुरी क्रस भएको भादगाउँले टोपी अनि भेष्ट, पाईन्ट, जुत्तामा चिटिक्क परेका र हातमा किताब च्यापेर मन्द मुस्कान सहित ती बालकको मुहार देख्दा उनमा खुशीको क्षण उत्कट छचल्किएको भाव जो कसैले अनुभुती गर्न सक्छ । गत मंगलबारदेखि उनी त्यस्तै पोशाकमा चिटिक्क परेर आफ्नो भविष्य खोज्दै अध्ययनका लागि विद्यालय जान थालेका छन् । उनी हुन्, हरिवन–१, कोठिखोला निवासी ईन्द्र बहादुर घिसिङका छोरा ६ वर्षीय विरु घिसिङ ।

शारिरिक रुपमा पूर्ण अशक्त रहेका आफ्ना बुबाको हेरचाहमै दिन बिताउन बाध्य विरुले हरिवन नगरपालिका–८, नारायणचोक स्थित गोर्खा एकेडेमीमा यु केजीमा अध्ययन सूरु गरेका हुन् । एक मात्र अभिभावक बुबा ईन्द्र कम्मर भन्दा तल केही नचल्ने भएर ओछ्यान परेपछि विरु बुबाको दिसापिसाब फाल्ने, पानी ल्याएर खुवाउने लगायत काममै खटिनु परिरहेको थियो । आमाले पनि छाडेर अर्कैसँग विबाह गरेपछि उनी बुबाको हेरचाहमै दिन बिताउन बाध्य भएका थिए ।

तर हरिवन–१ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट वडाध्यक्षको रुपमा टम बहादुर घिसिङले जीतेपछि भने विरुको दैनिकी फेरिएको छ । यस उज्यालो अभियान मिडिया ग्रुपबाट उज्यालो अभियन्ताको रुपमा अभिनन्दीत भईसकेका वडाध्यक्ष घिसिङले उज्यालो छर्ने अभियानको रुपमा विरुलाई विद्यालयमा अध्ययन गर्ने चाँजोपाँजो मिलाएका हुन् । चुनावमा भोट माग्दै कोठिखोला पुग्दा ती बालक अनि बुबाको अवस्था देखेपछि उनले निर्वाचित हुने वितिकै पत्रकारहरु घरमै बोलाएर समाचार प्रकाशन सहित अन्य सहयोगका लागि अनुरोध गरेका थिए ।

वडाध्यक्ष घिसिङकै आग्रहमा विरुलाई गोर्खा एकेडेमीले अध्ययन बापत लाग्ने सम्पूर्ण शुल्क मिनाहा गरिदिएको छ । त्यस्तै विरुलाई लगाउनका लागि टोपी, भेष्ट, जुत्ता र किताब बोक्ने ब्याग भने हरिवन कफी हाउसका सञ्चालक विनोद नेपालले उपलब्ध गराईदिएका छन् । विरुलाई चाहिने किताब र कापी अनि कलम सहित शैक्षिक सामग्री भने कार्की पुस्तक पसल हरिवनका सञ्चालक युवराज भण्डारीले उपलब्ध गराए । यी सबै चाँजोपाँजो मिलेपछि ‘विरु भाई’ गत मंगलबारदेखि शिरमा भादगाउँले टोपी ढल्काउँदै गोर्खा एकेडेमी धाउन सूरु गरिसकेका छन् ।

यो पनि पढ्नोस्

अरु विजयी नाचगानमा तल्लिन् रहँदा टम बहादुर भने बेसहाराकाे सहारामा जुटे

वडाध्यक्ष टम बहादुर घिसिङ सहित विरु भाईलाई अन्य सहयोग गर्ने मनकारी विनोद नेपाल अनि युवराज भण्डारीको उज्यालो छर्ने अभियान अन्तर्गत अध्ययन सूरु गरेका ‘विरुभाई’ लाई यस उज्यालो अभियान मिडिया ग्रुपको तर्फबाट उत्तरोतर प्रगतिको शुभकामना ।