अन्तर्राष्ट्रिय विमानस्थलका लागि सर्लाही उपयुक्त भएको दाबी

सागरनाथ वन विकास परियोजनाको मूर्तिया वन व्यवस्थापन क्षेत्रमा वन फँडानी भएर खाली देखिएको जमिन । (फाईल तस्बिर)

हरिवन – सर्बोच्च अदालतले वन क्षेत्र फँडानी गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्य बदर गर्ने आदेश दिएसँगै सर्लाहीका राजनैतिक अगुवा एवं सामाजिक व्यक्तित्वहरुले सागरनाथ वन विकास परियोजनाको खाली जमिन उपयुक्त हुने बताएका छन् ।

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले सर्लाहीको मूर्तिया क्षेत्र स्थित सागरनाथ वन विकास परियोजनाको खाली जमिन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त हुने र सोही ठाउँमा निर्माण कार्य अगाडी बढाउन माग गरेका छन् । ‘निजगढमा उम्दा सालको जंगल फँडानी गरेर विमानस्थल बनाउने कार्य सर्बोच्च अदालतले रोक्नु साह्रै सह्रानीय छ’, सभापति सिंहले उज्यालो अभियानसँग भने, ‘अब विकल्पको रुपमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उत्तम ठाउँ भनेकै सागरनाथ वन विकास परियोजनाको खाली जमिन हो ।’

त्यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले पनि अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीको मूर्तिया क्षेत्र स्थित सागरनाग वन विकास परियोजनाको खाली जमिनमा निर्माण गर्नुपर्ने बताएका छन् । ‘देश र मधेश प्रदेशकै करिब करिब मध्ये भागमा पर्छ सर्लाही’, साहले उज्यालो अभियानसँग भने, ‘तपाईको मिडिया मार्फत म अन्तर्राष्ट्रिय विमानस्थल सागरनाथ वन विकास परियोजनाको मूर्तिया वन क्षेत्रको खाली जमिनमा निर्माण अगाडी बढाउन माग गर्दछु ।’ हजारौं हेक्टर उम्दा सालको जंगल फँडानी गरेर निजगढमा बनाउनु भन्दा सागरनाथको खाली जमिनमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु अत्यन्त उपयुक्त रहेको साहको दाबी छ ।

त्यस्तै सामाजिक अभियन्ता एवं पूर्व प्रधानाध्यापाक रजनिकान्त झाले सर्बोच्च अदालतले निजगढमा जंगल मासेर हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य बदर गर्नु एकदमै स्वागत योग्य रहेको बताएका छन् । ‘मधेश प्रदेशको सबैभन्दा घना जंगल मासेर हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकेर सर्बोच्चले पर्यावरणको क्षेत्रमा ऐतिहाँसिक आदेश दिएको छ’, झाले उज्यालो अभियानसँग कुरा गर्दै भने, ‘अब वन क्षेत्र पनि नमासिने र खाली रहेको सर्लाहीको मूर्तिया क्षेत्र स्थित सागरनाथ वन विकास परियोजनाको जमिनमा अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडी बढाउनु नै सबैभन्दा उत्तम विकल्प हुन्छ ।’ उनले निजगढमा खानेपानी लगायतको ठूलो समस्या रहेकाले त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न खोज्नु एकदमै गलत भएको समेत दाबी गरे । ‘अन्तर्राष्ट्रिय विमानस्थल हुने ठाउँमा ठूला–ठूला होटलहरु तथा अन्य विभिन्न ठूला परियोजनाहरु पनि हुनेछन्, तर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल हुँदा खानेपानी लगायतमा पर्याप्त पानीका लागि डिप बोरिङ बाहेक अर्को विकल्पै देखिदैन’, झाको सुझाव थियो, ‘सर्लाहीको मूर्तिया क्षेत्रमा विमानस्थल निर्माण भयो भने त, मरिन डाईभर्सन मार्फत बागमतीमा पानीको मात्रा निकै हुने र सो बाट खानेपानी लगायतमा कुनै समस्या समेत हुदैन तथा सर्लाही देश र मधेश प्रदेशकै करिब करिब मध्य भागमा समेत पर्दछ ।’

सर्लाहीको मूर्तिया वन क्षेत्रमा सागरनाथ वन विकास परियोजनाको २७ सय हेक्टर क्षेत्रफलमा केही वर्षअघि वन फँडानी भएर खाली छ । हाल परियोजनाले मसला लगायतको विरुवा रोपेको छ भने, कतिपय क्षेत्रमा सुकुम्बासीका नाममा अतिक्रमण भएर सयौं घरहरु समेत बनेका छन् । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए त्यहाँ बसोबासरत सहित आसपासमा रहेका सुकुम्बासी परिवारलाई रोजगारीमा समेत जोड्न सकिने जानकारहरु बताउँछन् ।

सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय बदरको आदेश दिएको छ । बुधबार सर्बोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय, वन मन्त्रालयको वातावरणीय अध्ययन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जंगल नागरिक उड्डयन प्राधिकरणलाई दिने निर्णय बदर गरेको हो । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने निर्णय खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको छ । बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा, पूर्वसचिव रञ्जुहजुर पाँडे क्षेत्री, आनन्द भण्डारी लगायतले २ वर्षअघि दिएको रिटमा फैसला गर्दै सर्बोच्चले उक्त आदेश दिएको हो ।