१० पालिकाका उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुद्वारा शपथ ग्रहण

लालबन्दी – सर्लाहीमा बुधबार १० वटा पालिकाका प्रमुख तथा अध्यक्षहरुले आ–आफ्नो पालिकाका उपप्रमुख तथा उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् ।

पालिका प्रमुख र अध्यक्षहरुलाई भने सोमबार नै जिल्ला सदरमुकाम मलंगवामा जिल्ला न्यायाधीश ध्रुवकुमार पियाले शपथ ग्रहण गराएका थिए । बुधबार बागमती नगरपालिका, बरहथवा नगरपालिका, मलंगवा नगरपालिका, हरिवन नगरपालिका, विष्णु गाउँपालिका, ब्रम्हपुरी गाउँपालिका, पर्सा गाउँपालिकालगायतका पालिकाहरुमा शपथ ग्रहण तथा पदभारको कार्यक्रम भएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

बागमती नगरपालिकामा मेयर भरतकुमार थापाले उपमेयर लीलाकुमारी मोक्तानसहित १२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई शपथ खुवाएका छन् । बरहथवा नगरपालिकामा जिल्लामै एकमात्रै महिला मेयरको रुपमा निर्वाचित कल्पनाकुमारी कटुवालले उपमेयर रामबाबुप्रसाद साहसहित १८ वटै वडाका वडाध्यक्षहरुलाई शपथ खुवाई पदभार ग्रहण गरेको बरहथवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

हरिवन नगरपालिकामा मेयर रमेश बुढाथोकी (कमल) ले उपमेयर हरिमाया घलानसहित ११ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई शपथ खुवाएका छन् । हरिवनमा माओवादीले कुनै पनि वडामा वडा सदस्य धरी नजितेको भएपनि मेयरमा भने बुढाथोकी विजयी भएका थिए ।

यस्तै, बलरा नगरपालिकामा मेयर रामाशंकरप्रसाद कुशवाहाले उपमेयर कोशिलादेवीसहित सबै वडाअध्यक्ष र वडासदस्यहरुलाई सपथ खुवाएका छन् । सदरमुकाम मलंगवा नगरपालिकामा मेयर नागेन्द्रप्रसाद यादवले उपमेयर शकुन्तलादेवी साहसहित वडाध्यक्ष र वडा सदस्यहरुलाई शपथ खुवाएका छन् ।

यसैगरी ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साह, पर्सा गाउँपालिकाका अध्यक्ष धीरेन्द्र राय, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय, बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय र धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले आ–आफ्नो पालिकाका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई शपथ खुवाएका छन् । सर्लाहीमा यसअघि लालबन्दी नगरपालिका, हरिपुर नगरपालिका, ईश्वरपुर नगरपालिका, चन्द्रनगर गाउँपालिकालगायतका केही पालिकामा गएको सोमबार पालिका प्रमुखहरुले शपथ खाएर आएकै दिन अन्य जनप्रतिनिधिहरुलाई पनि शपथ खुवाइसकिएको छ ।