लालबन्दीमा माओवादीका जनप्रतिनिधिलाई सम्मान

सम्मान कार्यक्रमपछि सामूहिक तस्बिर खिचाउँदै माओवादी नेताहरु । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई मंगलबार सम्मान गरिएको छ ।

पार्टीको नगर कमिटीले नगरभित्र निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । लालबन्दीमा माओवादीका ६ जना वडाध्यक्ष र १७ जना वडा सदस्य गरी २३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई खादा पहिर्याएर सम्मान पत्र प्रदान गरी सम्मान गरिएको माओवादी केन्द्र लालबन्दी नगर कमिटीका सचिव राजन श्रेष्ठले जानकारी दिए । यस्तै, पार्टीबाट उम्मेदवार भई पराजित भएकाहरुलाई पनि सान्त्वनासहित हौसला प्रदान गरी सम्मान गरिएको माओवादी केन्द्र लालबन्दीले जनाएको छ ।

नगर कमिटीका अध्यक्ष लेखराम जर्गा मगर (अर्जुन) को अध्यक्षता एवं पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार तथा केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य सावित्री बुढाथोकी, लालबन्दी ३ का निवर्तमान वडाध्यक्ष रामनारायण चौधरी, वडा नं. १६ का निर्वाचित वडाध्यक्ष गणेशबहादुर थापा, नेता कृष्ण गौतमलगायतले मन्तव्य राखे ।