झण्डै साँढे २ क्विन्टल गाँजासहित पत्थरकाेटबाट ६ जना पक्राउ

गाँजा सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै लालबन्दी प्रहरी । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका-१३, पत्थरकोटबाट ठूलो परिमाणमा लागूऔषधकाे रुपमा प्रयाेग हुने गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

पत्थरकोटका कान्छामान थिङको घरबाट दुई क्विन्टल ३७ केजी ६०० ग्राम गाँजासहित छ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा घरधनी ३८ वर्षीय कान्छामान, सोही वडाका २१ वर्षीय सुनिल दोङ, १९ वर्षीय विशाल थिङ, २१ वर्षीय मिलन थिङ, १९ वर्षीय निकेश दोङ र लालबन्दी नगरपालिका–१४, नारायण खोलाका १९ वर्षीय राज बम्जन रहेका छन् ।

घरमा गाँजा भण्डारण गरेर राखिएको र अन्यत्र निकासीको तयारी भइरहेको सुराकी पाएपछि मंगलबार बिहान ४ बजे नै इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) शान्तराम कार्कीको नेतृत्वमा प्रहरी टोली कान्छामानको घर घेराउ गर्न पुगेको थियो । घरभित्र प्लाष्टिकको बोरा र प्लाष्टिकले बेरिएको अवस्थामा ४६ वटा पोकामा लुकाइछिपाइ राखिएको  गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न भएको एउटा अनटेष्ट र अर्को प्रदेश–२–०३–०११४२८० नम्वरको दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ । गाँजासहित पक्राउ परेका छ जनाविरुद्ध मंगलबार नै सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई लालबन्दी प्रहरीको हिरासतमा राखिएको छ । बरामद गरिएको गाँजा जिल्लाको नारायण खोलाबाट ल्याएर भारततर्फ निकासी गर्न लागिएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।
जिल्लाको सबैभन्दा दुर्गम चुरेभेगमा पर्ने नारायण खोलामा व्यावसायिक रुपमा गाँजा खेती हुने गरेको छ ।