‘भद्रगोल’ व्यवस्थापनका बीच सर्लाहीका पालिका प्रमुखले लिए शपथ

जिल्ला न्यायाधीश ध्रुब कुमार पियाबाट शपथग्रहण गर्दै पालिका प्रमुखहरु ।

मलंगवा – सर्लाही स्थित २० वटै स्थानीय तहका नव निर्वाचित प्रमुख तथा अध्यक्षहरुले सोमबार पद तथा गोपनियताको शपथ खाएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाहीका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुबकुमार पियाले जिल्ला समन्वय समितिको सभाहलमा नवनिर्वाचित नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । शपथ ग्रहण कार्यक्रममा मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादव, कबिलासीका मेयर ब्रम्हदेव राय, हरिपुरका मेयर गोपाल पंजियार, लालबन्दीका मेयर बासुदेव अधिकारी, ईश्वरपुरका मेयर मनोज कुमार आचार्य, हरिपूर्वाका मेयर विनोद कुमार साह तेली, हरिवनका मेयर रमेश बुढाथोकी, बागमतीका मेयर भरत कुमार थापा, बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवाल, बलरा नगरपालिकाका मेयर रमाशंकर कुशवाहा, गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार राय लगायतको सहभागिता रहेको थियो । त्यसैगरी कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार, चक्रघट्टाका कृष्ण राय, विष्णुका जबाहरलाल राय, रामनगरका राजाबाबु यादव, धनकौलका रामआश्रय साह, बसबरियाका रामसिंहासन राय, ब्रम्हपुरीका रामपदारथ साह, पर्साका धिरेन्द्र राय, चन्द्रनगरका राजकुमार महतोले पनि शपथ लिएका छन् ।

जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलको सञ्चालन तथा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिसस उपप्रमुख जमुना पराजुली, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

शपथग्रहण स्थल अत्यन्त साँघुरो हुँदा कार्यक्रम भद्रगोल बनेको थियो । पत्रकारहरु फोटो खिच्नैका लागि सानो ठाउँमा पनि यता र उता दौंडिदा अशोभनिय देखिएको थियो । जिल्ला स्थित सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु पछाडिपट्टि कोचिएर बसेका थिए । अन्य राष्ट्रसेवक अधिकृतहरु पनि ‘ठेलामठेल अनि कोचामकोच’ मा निसास्सिएर बस्न बाध्य भएका थिए । सानो ठाउँ अनि सहभागि निकै हुँदा कार्यक्रम भद्रगोल बनेको हो । शपथग्रहण गर्नका लागि पालिका प्रमुखहरुलाई पनि सानो भएकाले निकै असहज भएको थियो ।छेउमै ठूलो सभाहल भएपनि सानो हलमा कार्यक्रम राखिँदा त्यस्तो अवस्था आएको हो । जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदीले निमन्त्रणा गरेभन्दा बढी सहभागि भएकाले सभाहल सानो हुन पुगेको बताए ।

त्यस्तै जिल्ला न्यायाधीशबाट शपथ खाएपछि अधिकांश नगरप्रमुख र अध्यक्षहरुले आ–आफ्नो पालिकामा पुगेर पदभार ग्रहण गरी उपप्रमुख तथा उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई शपथ खुवाएका छन् भने कतिपयले एकदुई दिनपछि कार्यभार सम्हाल्ने र अन्य जनप्रतिनिधिलाई शपथ खुवाउने बताएका छन् ।

स्थानीय तह निर्वाचनबाट सर्लाहीका २० वटा पालिकामा प्रमुख तथा अध्यक्ष २० जना, उपप्रमुख तथा उपाध्यक्ष २० जना, २०० जना वडाध्यक्ष र ८०० जना वडा सदस्य गरी एक हजार ४० जना जनप्रतिनिधि चुनिएका छन् ।