बरहथवामा एमालेका कृष्ण बने भाग्यमानी वडाध्यक्ष, कांग्रेसका लखेन्द्र भए अभागी !

बरहथवा – सर्लाही स्थित बरहथवा नगरपालिका वडा नम्बर ४ मा सबैभन्दा बढी समान मत ल्याउने उम्मेद्वार दुईजना भएपछि गोलाप्रथाबाट वडाध्यक्ष छानिएको छ ।

मतगणनाका क्रममा अन्तिम परिणाम आउँदा वडाध्यक्षका प्रत्यासी नेकपा एमालेका कृष्ण कुमार साह र नेपाली कांग्रेसका लखेन्द्र महतोले समान ३०४ मत हाँसिल गरेपछि गोलाप्रथाबाट वडाध्यक्ष छानिएको निर्वाचन अधिकृतको कार्यालय बरहथवाले जनाएको छ । गोलाप्रथा गर्दा एमालेका ४१ वर्षीय कृष्ण भाग्यमानी सावित हुँदै वडाध्यक्षमा चुनिए भने समान मत पाउँदा समेत कांग्रेसका ३७ वर्षीय लखेन्द्र अभागी सावित हुँदै क्षणभरमा निकटतम् प्रतिद्वन्द्वीको रुपमा परिणत भए ।

एकहजार ७५ मतदाता रहेको सो वडामा ९२४ मत खसेका थियो । २ मत पूर्ण रुपमा बदर हुँदा कृष्ण र लखेन्द्रले ३०४, नेकपा माओवादी केन्द्रका घनश्याम प्रसाद कुशवाहाले २८९, जनता समाजवादी पार्टीका श्यामबाबु गिरीले ३९ र जनमत पार्टीका सुखल साह तेलीले ६ मत प्राप्त गरेका छन् ।