देवेन्द्र ‘एकल वृहस्पति’ बन्दा राष्ट्रिय अध्यक्ष र वरिष्ठ नेताको जिल्लामा लोसपाको ‘बिउ’ जोगियो

गोडैताको नगरपालिकाको मेयरमा पुनः निर्वाचित देवेन्द्र कुमार यादव ।

टंक बहादुर क्षेत्री/गोडैता – राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको गृहजिल्ला सर्लाहीमा लोकतान्त्रिक समाजवादी पार्टीले बल्लतल्ल पहिलो खाता खोलेको छ ।

गोडैता नगरपालिकाको मेयर र उपमेयरमा देवेन्द्र कुमार यादव र अन्जना कुशवाहाले जीत निकाल्दै राष्ट्रिय अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको ‘नाक’ राख्ने मात्र हैन्, लोसपाको ‘बिउ’ जोगाउने काम समेत गरेका छन् । नेपालमै सबैभन्दा बढी २० वटा पालिका रहेको सर्लाहीमा गोडैता सहित १५ वटा स्थानीय तहको अन्तिम नतिजा आईसकेको छ । जसमा लोसपाको पोल्टामा परेको गोडैता बाहेक नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ३, जनता समाजवादी पार्टीले १ पालिकामा यसअघि नै जीत निकालिसकेका छन् ।

परिणाम आउन बाँकी ५ वटा पालिका मध्ये २ वटामा कांग्रेसले फराकिलो मतान्तर सहित अग्रता लिएको छ भने जसपा र नेकपा एमालेले १–१ पालिकामा अग्रता लिईरहेका छन् । हरिवन नगरपालिकामा भने एमाले र माओवादीका मेयर उम्मेद्वारको लुकामारी खेलेजस्तै पालैपालो त्योपनि ८, २२, ५०, ६७ मतले अग्रता लिईरहेका छन् । मतगणना जारी पालिकामा आफ्ना उम्मेद्वार प्रतिष्पर्धा भन्दा निकै तल रहेकाले गोडैता नगरपालिकाको जीत उसका लागि पहिलो खाता खोल्ने मात्र हैन अन्तिम पालिकाकै रुपमा लोसपाले चित्त बुझाउनु पर्ने निश्चित भएको छ ।

यसअघि लाेसपाकाे पाेल्टामा गाेडैता सहित बलरा नगरपालिका तथा काैडेना, चन्द्रनगर, ब्रम्हपुरी गाउँपालिका रहेकाे थियाे । तर याे पटक आफ्नाे पाेल्टामा रहेका अन्य ४ पालिकाहरु उसकाे भागबाट खाेसियाे । जेहोस्, ५ हजार २९४ मत सहित यादवले मेयरमा दोस्रो पटक एकमात्र पालिका गाेडैतामा जीत निकालेर केन्द्रीय नेताहरुको जिल्ला सर्लाहीमा ‘एकल वृहस्पति’ जस्तै बनेका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र प्रसाद कुशवाहालाई ५४२ मतले हराएका हुन् । प्रदेश सभा सदस्यबाट राजिनामा दिएर दोस्रोपटक पुनः गोडैताको मेयर ताकेका कुशवाहाले ४ हजार ७५२ मत मात्र ल्याउँदै हार स्वीकार्न बाध्य भए । कुशवाहा २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि गोडैताको मेयरमा कांग्रेसको तर्फबाट प्रत्यासी थिए । मेयरमा हारेपछि लगतै क्षेत्र नम्बर ४ ख प्रदेश सभा सदस्यमा चुनाव लडेका कुशवाहा निर्वाचित भएका थिए । मधेश प्रदेश सदस्य सभामा कांग्रेसका मुख्य सचेतक समेत रहेका कुशवाहा फेरि राजिनामा दिएर मेयरको चुनावी प्रतिष्पर्धामा पुनः होमिएका थिए ।

त्यसैगरी उपमेयरमा पनि लोसपाकी अञ्जना कुशवाहा दोस्रो पटक निर्वाचित भएकी छिन् । ५ हजार ३०१ मत सहित ४२ वर्षीया कुशवाहा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामसखी देवीले ४ हजार ४९३ मत मात्र प्राप्त गरिन् ।