लालबन्दीको मेयरमा माओवादीका बुढाथोकी र उपमेयरमा कांग्रेसकी पाख्रिनको अग्रता

लालबन्दीमा जारी मतगणना । तस्बिर : उज्यालोे अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकामा शनिबार दिउँसो २ बजेसम्म १९९ मत गनेर सकिएको छ ।

अहिले वडा नं. १ र २ को मतगणना जारी छ । १९९ मत गनिसक्दा मेयरमा माओवादी केन्द्र र एकीकृत समाजवादीका साझा उम्मेदवार प्रल्हाद बुढाथोकीले अग्रता लिएका छन् । बुढाथोकीले मेयरमा वडा नं. १ बाट २० र वडा नं. २ बाट ४४ सहित ६४ मत ल्याएका छन् ।

यस्तै, नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बासुदेव अधिकारीले वडा नं. १ बाट २८ र वडा नं. २ बाट २४ गरी ५२ मत ल्याएर बुढाथोकीलाई पछ्याइरहेका छन् । यसैगरी, नेकपा एमालेबाट मेयरका उम्मेदवार गोविन्द महतले वडा नं. १ मा १५ र वडा नं. २ मा २१ गरी ३६ मत ल्याएका छन् ।

लालबन्दीमा उपमेयरमा कांग्रेसकी कल्पना पाख्रिनले वडा नं. १ मा २७ र २ मा १९ गरी ४६ मत , एमालेकी सनसरी माया थिङले वडा नं. १ मा १४ र २ मा २१ गरी ३८ मत र माओवादी–समाजवादीको उमेयरका साझा उम्मेदवार गोविन्द अधिकारीले वडा नं. १ बाट मात्रै १० मत ल्याएका छन् ।

लालबन्दीमा पुरानो नगरपालिका भवनस्थित हलमा बिहान ११ बजेदेखि मतगणना जारी छ ।