काैडेनामा तुरुन्त मतगणना सूरु गर्न आयाेगकाे निर्देशन

शुक्रबार दिउँसाे पटक पटक झडप भएपछि मतदान सूचारु गराउन काैडेना-६ आधारभूत विद्यलय मतदान केन्द्रमा खटिएकाे नेपाली सेनाकाे टाेली ।

मलंगवा – सर्लाहीकाे दक्षीणी क्षेत्र स्थित काैडेना गाउँपालिकामा तुरुन्त मतगणना सूरु गर्न निर्वाचन आयाेगले निर्देशन सहितकाे लिखित पत्र पठाएकाे छ ।

काैडेना गापा-४, माेतिपुरमा पुन: मतदान हुनुपर्ने माग सहित विभिन्न राजनैतिक दलले लिखित निवेदन सहित अवराेध गरेपछि त्यहाँ मतगणना सूरु हुन सकेकाे छैन । माओवादी, लाेसपा, जसपा, एमाले, माओवादी, जनमत लगायत दलका उम्मेद्वारले पुनः मतदान गर्नुपर्ने माग गरेका छन् । कांग्रेस भने शुक्रबार सम्पन्न मतदान नै गणना गर्नुपर्ने पक्षमा छ ।

काैडेनामा शनिबार दिउँसाे पनि साेही विषयमा झडप भएकाे थियाे । पछि निर्वाचन अधिकृत विश्वनाथ अर्यालले कांग्रेस बाहेकका दलहरुले दिएकाे निवेदन निर्वाचन आयाेगमा पठाएका थिए । आयाेगले जे निर्णय गर्छ त्याे मान्य हुने निवेदन दिने दलका प्रतिनिधिहरुले बताएपछि आफूले उक्त निवेदन आयाेगमा पठाएकाे निर्वाचन अधिकृत अर्यालले जानकारी दिए ।

तर आयाेगले पुन: मतदान नगरी शुक्रबार भएकै मतदानलाई सदर गरि तत्काल मतगणना सूरु गर्न निर्देशन दिएकाे जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए । अब सुरक्षा व्यबस्था मिलाएर मतगणना सूरु गरिने बताईएकाे छ ।

मुलुकमै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेकाे सर्लाहीमा १८ वटा पालिकाकाे मतगणना सूरु भईसकेकाे छ । बरहथवामा भने वडा नम्बर १७ मा पुन: मतदान गर्ने आयाेगले निर्णय गरिसकेकाे छ ।