लालबन्दीमा ३९ हजारमध्ये २७ हजार मत खस्यो, आजै रातीदेखि गणना सुरु गर्ने तयारी

जिल्लाकै दुर्गम भेग नारायणखोलाबाट ट्याक्टरमा हालेर ल्याइएको मतपेटिका । तस्बिर : उज्यालो अभियान

लालबन्दी – जिल्लामा निकै चासोका साथ हेरिएको लालबन्दी नगरपालिकाको १७ वटै वडाबाट लालबन्दी बजारस्थित पुरानो नगरपालिका भवनमा मतपेटिका आइपुगेको छ ।

१७ वटा वडा रहेको लालबन्दीमा ५० वटा मतदान केन्द्र छन् । ती सबै मतदान केन्द्रबाट मतपेटिका पुरानो नगरपालिका भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको हो ।

जिल्लाकै दुर्गम भेगस्थित लालबन्दी नगरपालिकाको वडा नं. १४ नारायणखोलाको मोटरदोभान क र ख तथा डाइनीखोला मतदान केन्द्रको मतपेटिका समेत शुक्रबार राती ९ः१६ बजे लालबन्दी आइपुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नारायणखोलाको दुवै मतदानस्थलको मतपेटिका ट्याक्टरमा हालेर ल्याइएको हो ।

लालबन्दीका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले सबैतिरबाट मतपेटिका आइसकेकाले अब सर्वदलिय बैठक राखेर मतगणनाबारे निर्णय गर्ने तयारी भइरहेको उज्यालो अभियानसँग बताए । श्रेष्ठले रातीबाटै मतगणना सुरु हुने बताएका छन् । मतगणना गर्न तारजाली हालेर सिसी क्यामेरा समेत जडान गरी नगरपालिकाको सभा हलमा मतगणनास्थल तयार पारिसकिएको छ । कुन वडाबाट मतगणना सुरु गर्ने ? भन्ने निर्णय सर्वदलिय बैठकले नै गर्ने छ ।

लालबन्दीमा ३९ हजार ७२७ मतदाता रहेकोमा १३ हजार २७६ पुरुष र १३८३३ महिला गरी २७ हजार १०९ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबै मतपेटिका मतदान अधिकृतहरुले भर्खरै बुझाएर सकेका छन् ।

लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले ५५ वटै मतदान केन्द्रमा शान्तपूर्ण ढंगले मतदान सम्पन्न भएको बताए ।

वडागत रुपमा खसेको मतसंख्या ।