सर्लाहीको गोडैतामा बर्ड फ्लू देखियो, ३८२ वटा हाँस मरिसके

मलंगवा – भारतीय सिमावर्ती सर्लाहीको गोडैता नगरपालिका स्थित एक हाँस फार्ममा बर्ड फ्लू देखिएको छ ।

गोडैता नगरपालिका–५, बकैनिया जाने बाटो छेउको जेके पशुपालन तथा पोल्ट्री फार्म हाउसमा पालिएका हाँसहरुमा बर्ड फ्लू देखिएको हो । आज (विहिबार) बिहानदेखि पशु सेवा विभागबाट खटिएको टोलीले फार्म हाउस तथा छेउको गाउँमा स्थलगत अवलोकन गरिरहेको छ ।

उक्त फार्म हाउसमा पालिका ५५० वटा हाँस मध्ये बर्ड फ्लूका कारण ३८२ वटा हाँस मरिसकेको र हाल फार्म हाउसमा १६८ वटा जिउँदो हाँस रहेको पशु सेवा विभागबाट घटनास्थलमा खटिएका डा. विजय चौधरीले जानकारी दिए । बर्ड फ्लू देखिएपछि विभागले राष्ट्रिय पशु प्रजनन् केन्द्र लाहानका पशु चिकित्सक चौधरी सहितको टिमलाई विहिबार गोडैता पठाएको हो ।

‘हाँस फार्मको वरिपरि अन्य पोल्ट्री फार्महरु रहेनछन्, गाउँ पनि ५० देखि ७५ मिटर टाढा पर्दो रहेछ’, डा. चौधरीले उज्यालो अभियानसँग भने, ‘गाउँतिर पालिका परेवा, कुखुरा लगायत अन्य पंक्षीहरु पनि मरेका रहेनछन्, अब सोही फार्म हाउसलाई डिसईन्फेक्सन गरेर हाँसहरु नष्ट गर्ने तयारीमा छौं ।’

उक्त फार्म हाउसमा पहिलो पटक वैशाख १८ गते हाँस मर्न सूरु गरेको र २३ गते विज्ञ केन्द्र मलंगवामा फार्म हाउसका संचालकले सम्पर्क गरेको बताइएको छ । वैशाख २५ गते हाँसको नमूना परीक्षणका लागि भरतपुर पठाईएको र त्यहाँबाट फेरि काठमाडौंमा पनि परीक्षण गर्दा वैशाख २७ गते बर्ड फ्लू पुष्टि भएको थियो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले गोडैतामा बर्ड फ्लू देखिएको उल्लेख गर्दै घटनास्थललाई नियन्त्रणमा लिएर प्रकृया अनुसार नष्ट गर्ने लगायत तयारी भईरहेको जानकारी दिए । ‘पशु सेवा विभागबाट पनि विज्ञहरुको टिम घटनास्थल पुगिसक्ने भएको छ’, प्रजिअ गौतमले उज्यालो अभियानसँग भने, ‘हाम्रो पनि एउटा रेस्क्यू टिम जाँदैछ ।’