सर्लाहीको नेपाल–भारत सीमा नाका बन्द, मदिरा बिक्रीमा रोक

भारतीय सिमा स्थित मुख्य मलंगवा नाका । (फाईल तस्बिर)

मलंगवा – आउँदो ३० गते हुने निर्वाचनलाई लक्षित गरी गएराती (मंगलबार राती) १२ बजेबाट सर्लाहीको नेपाल–भारत सीमा नाका पनि बन्द गरिएको छ ।

चुनाव हुनुभन्दा ७२ घण्टाअघि अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने प्रचलन अनुसार गएराती १२ बजेपछि जिल्लाको दक्षिणी भेगका सबै सीमा नाकाहरु शिल गरिएको सर्लाहीका प्रमुख अधिकारी थानेश्वर गौतमले उज्यालो अभियानसँग बताए । उनले मतदान सम्पन्न भएको दिन राती १२ बजेपछि मात्रै सीमा नाकाहरु खोलिने बताएका छन् ।

केही दिनअघि महोत्तरीको बर्दिवासमा बसेको सर्लाही, महोत्तरी र रौतहटका सुरक्षा अधिकारी तथा भारत सीतामढीका अधिकारीहरुबीचको बैठकले २७ गते राती १२ बजेदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । मतदानको दिन नजिकिँदै गर्दा भारतीय सीमा क्षेत्रमा सुरक्षा सतर्कता समेत बढाइएको छ ।

यस्तै, मंगलबार मध्यराती देखि मतगणना सम्पन्न नहुन्जेलसम्म जिल्लाभर सबै प्रकारका मादक पदार्थ (मदिरा) बिक्री वितरण गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना निकालेर जनाएको छ ।