हेर्नोस्, उम्मेद्वारी दर्तादेखि हालसम्म सर्लाहीमा भईरहेका चुनाव प्रचार (तस्बिरहरु सहित)

मलंगवा – मनोनयन दर्तासँगै उम्मेद्वारहरु आ–आफ्नो पक्षमा मत माग्दै घरदैलोमा पुग्न थालेसँगै सर्लाहीमा चुनावी रौनक निकै बढेको छ ।

अहिले सबै राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेद्वार आफ्नो पक्षमा मत माग्दै मतदाताको घर–घरमा पुगिरहेका छन् । जिल्लाको ११ वटा नगरपालिका र नौ वटै गाउँपालिकामा चुनावी माहोल तातेको छ । बालबालिका देखि किशोरकिशोरी हुँदै महिला र वृद्धवृद्धासम्म नाचगान सहित घरघरमा जाने गरेका छन् ।

जिल्लाको प्रत्येक गाउँ बस्तीहरु दलका झण्डा, चुनाव चिन्ह, तुल, ब्यानर टाँगिदा रंगिविरंगी देखिएको छ । आफ्नो उम्मेद्वारहरुलाई जिताउन स्थानीयस्तरदेखि जिल्ला र केन्द्रीय स्तरका नेताहरु समेत घरदैलोमा सँगै हिँडिरहेका देखिन्छ ।

आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनबाट सर्लाहीका ११ वटा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख तथा नौवटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित प्रत्येक वडामा एक जना वडाध्यक्ष, दुई जना खुल्ला वडा सदस्य, एक जना महिला वडा सदस्य र एक जना दलित महिला वडा सदस्य निर्वाचित हुने छन् । सर्लाहीका २० वटा स्थानीय तहमा २०० वडा रहेका छन् ।

पालिका प्रमुख २० जना, उपप्रमुख २० जना, वडाध्यक्ष २०० जना, खुल्ला वडा सदस्य ४०० जना, महिला वडा सदस्य २०० जना र दलित महिला वडा सदस्य २०० जना गरी जिल्लाभर एक हजार ४० जना जनप्रतिनिधि आउँदो निर्वाचनबाट निर्वाचित हुने छन् । चुनावी प्रतिस्पर्धाका लागि जिल्लामा छ हजार बढीको उम्मेद्वारी परेको छ ।

(उज्यालो अभियानका लागि तस्बिरहरु : टंकबहादुर क्षेत्री/श्रवण थापा)