लालबन्दीमा ´राईछाई` भयाे बाेडी, एक्कासी मूल्य घट्दा किसान चिन्तित्(तस्बिरहरु)

लालबन्दी स्थित कृषि उपज थाेक बजारमा बाेडी बिक्रीका लागि व्यापारीकाे पर्खाईमा बसेका एक किसान ।

लालबन्दी – कृषि उपज थाेक बजार लालबन्दीमा किसानले उत्पादन गरेकाे मिटर बाेडीले भरिभराउ हुन थालेकाे छ ।

केही दिनअघि सम्म थाेरै मात्र आउने बाेडी ४ दिनदेखि भने लालबन्दी बजारमा अत्यधिक आउन थालेकाे कृषि उपज थाेक बजार समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए । हरेक दिन बिहान ८ बजेतिर लालबन्दी बजारमा मिटर बाेडी बाेकेका साईकल, माेटरसाईकल, ईरिक्सा लगायत सबारी साधनकाे लर्काे देखिन्छ । उत्पादन बढेसँगै केही दिनयता लालबन्दीमा १०० क्वीन्टल हारहारी मिटर बाेडीकाे किनबेच हुने गरेकाे घिमिरेले जानकारी दिए ।

तर बाेडीकाे उत्पादन बढेपनि मूल्य भने ह्वात्तै घटेपछि किसान निकै चिन्तित बनेका छन् । ४ दिनअघि सम्म प्रतिकिलाे ४० रुपैंया रहेकाे बाेडी ३ दिनयता ३० बाट २० हुँदै १५ रूपैंयामा व्यापारीलाई बिक्री गर्न बाध्य भएका छन् । बाेडी राईछाई भएपछि व्यापारीहरु मिलेर मूल्य घटाएकाे किसानकाे गुनासाे छ । १०० रुपैंया प्रतिकिलाे सम्म बेचेका किसान अहिले १५ रुपैंयामै बाेडी दिनुपर्दा किसान निरास भएका छन् ।