सर्लाहीमा एसईईबाट ३७५ जना विद्यार्थी गायब !

मलंगवा – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ शुक्रबारदेखि सर्लाहीसहित देशैभर सुरु भएको छ ।

पहिलाे दिन शुक्रबार सर्लाहीमा एसईई परीक्षा अत्यन्त मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न भएकाे प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । विगतमा नक्कली परीक्षार्थी तथा नक्कली निरीक्षक राखेर परीक्षा दिलाउने घटनाहरु व्यापक रुपमा हुने गरेकाे थियाे ।

सर्लाहीमा १० हजार ४२१ जना परीक्षार्थीले एसईईमा सहभागी हुन फारम भरेपनि शुक्रबार पहिलाे दिन अंग्रेजी विषयकाे परीक्षामा १० हजार ८६ जना मात्र उपस्थित भएका छन् । फारम भरेपनि २०५ छात्र र १७० छात्रा गरि ३७५ जना विद्यार्थी परीक्षामा नआएकाे शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका निमित्त प्रमुख सुनिल कुशवाहाले जानकारी दिए ।

सर्लाहीमा ३६ वटा केन्द्रमा संचालित परीक्षामा ९५ वटा सामुदायिक र ४३ वटा संस्थागत विद्यालयका विद्यार्थी सहभागी छन् । परीक्षाका लागि ३६ जना केन्द्राध्यक्ष, ७३ जना सहायक केन्द्राध्यक्ष, ५२२ जना निरीक्षक, १०३ जना परीक्षा सहायक र २१० जना विद्यालय सहयोगी खटिएका निमित्त प्रमुख कुशवाहाले बताए ।

उनका अनुसार यो वर्ष एउटा परीक्षा केन्द्र थप भएको छ । बरहथवा नगरपालिकास्थित जनहित मलभोगिया मोनिलाल माध्यमिक विद्यालय हात्तीडण्डालाई नयाँ परीक्षा केन्द्र कायम गरिएको हो ।
काेराेना भाईरस संक्रमणका कारण यसअघि दुई वर्ष विद्यालयकै मूल्यांकनका आधारमा एसईईकाे नतिजा सार्वजनिक भएको थियो । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले परीक्षा दिन सुरु गरेका छन् ।

फोटो क्याप्सन ः सर्लाहीकाे हरिवन नगरपालिका-४ गणेशचाेक स्थित माईरानी मिक्चन मावि केन्द्रमा शुक्रबार परीक्षा दिँदै गरेका विद्यार्थी । (तस्बिर : उज्यालाे अभियान)