जनप्रतिनिधिले जोगाएको विद्यालय, अंग्रेजी माध्यमले विद्यार्थीको संख्या दोब्बर

लालबन्दी – जनप्रतिनिधिले नेतृत्व लिएपछि लालबन्दी नगरपालिका–६, मा रहेको पे्रमज्योति आधारभूत विद्यालयको मुहार फेरिएको छ ।

कुनै बेला विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो विद्यालयमा अहिले अभिभावक र विद्यार्थीहरुको आकर्षण बढ्दो छ । विद्यालयमा १९६ जना विद्यार्थी भर्ना भएका छन् । तीमध्ये दैनिक १७० जना भन्दा बढी विद्यार्थी नियमित अध्ययनका लागि आउने गरेका विद्यालयको रेकर्डले देखाउँछ ।

२०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आउनुअघि विद्यालयमा करिव १०० जना विद्यार्थी भर्ना थिए । त्यसमध्ये नियमित पढन भने ४०/४५ जना विद्यार्थी मात्रै आउँथे ।

वडाध्यक्ष उज्वल कुमार कार्कीसहितका जनप्रतिनिधि निर्वाचित भएर आएपछि विद्यालयलाई सुधारको प्रयास सुरु गरियो । सरकारी विद्यालयमा अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न वडाध्यक्ष कार्कीसहितका जनप्रतिनिधि आफैले आफ्ना बालबच्चालाई सोही विद्यालयमा भर्ना गराए ।

जनप्रतिनिधिको छोराछोरी नै भर्ना भएका र अंग्रेजी माध्यमबाट समेत पठनपाठन हुन थालेपछि विद्यालयमा विद्यार्थीको चाप विस्तारै बढ्दै गयो । भौतिक संरचनाको समेत अभाव रहेको विद्यालयमा भर्खरै नगरपालिका कार्यालयको सहयोगमा नयाँ भवन निर्माण भएपछि पठनपाठनका लागि कुनै समस्या छैन् ।

वडाध्यक्ष कार्कीले सरकारी विद्यालयप्रति आकर्षण र विश्वास बढाउन आफूले आफ्ना छोराछोरीलाई सोही विद्यालयमा भर्ना गरेर पढाइरहेको बताए । ‘मेरा एक छोरा र एक छोरी त्यहीँ पढिरहेका छन्, मैले नै छोराछोरी भर्ना गरेपछि अरुले पनि विश्वास गरेर त्यहीँ भर्ना गराउनुभएको छ,’ वडाध्यक्ष कार्कीले उज्यालो अभियानसँग भने, ‘अंग्रेजी माध्यम र कम्प्यूटर कक्षा समेत संचालन गरेकाले हाम्रा विद्यार्थीहरु निजी विद्यालयमा पढेका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने गरी उत्पादन भइरहेका छन् ।’

+

जनप्रतिनिधिसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित अन्य पदाधिकारीले पनि आफ्ना छोराछोरी सोही विद्यालयमै भर्ना गरेका छन् । विशेष गरी आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबच्चा अध्ययन गर्ने यस विद्यालयमा वडाध्यक्ष कार्कीसहितको पहलमा विद्यालयको अवस्था सुधार भएर राम्रो पठनपाठन हुन थालेपछि अभिभावकहरु खुसी छन् ।

विद्यालय संचालनका लागि वडाले निजी स्रोतमा शिक्षक समेत राखेको छ । विद्यालयमा अहिले नर्सरीदेखि कक्षा ६ सम्म पठनपाठन हुन्छ । अंग्रेजीमाध्यममा पठनपाठनसँगै कम्प्यूटर ल्याब पनि संचालनमा छ ।
विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद आचार्यले कम्प्यूटरको बेग्लै शिक्षक राखेर विद्यार्थीलाई कम्प्यूटर शिक्षा प्रदान गरिरहेको बताए । नगरभित्रै नमूनाको रुपमा संगित रक्षा समेत संचालन गरिएको भएपनि कोरोना भाइरसका कारण सो कक्षा भने तत्कालका लागि बन्द गर्नुपरेको आचार्यले बताए ।

प्रधानाध्यापक आचार्यले जनप्रतिनिधि निर्वाचित भएर आएपछि विद्यालय सुधार गर्न ठूलो सहयोग पुगेको बताए ।