\चितायनमा जारी जिल्ला स्तरीय फुटबलको उपाधिका लागि एभरेष्ट र सेभेनस्टारले खेल्ने

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, चितायनमा जारी जिल्ला स्तरीय वडाध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा उपाधिका लागि एभरेष्ट एकेडेमी लालबन्दी र सेभेनस्टार युवा क्लब हजरियाले खेल्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सन युवा क्लब सागरनाथलाई टाइबे्रकरमा ४–२ गोलले पराजित गर्दै एभरेष्टले हजरियासँगको भेट पक्का गरेको हो । सेभेनस्टार हजरिया बुधबार पहिलो सेमिफाइनल खेलमा आयोजक लक्ष्मीनाथ युवा क्लब चितायनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल भोली १० गते हुने आयोजक लक्ष्मीनाथ युवा क्लबका अध्यक्ष नरहरि धामीले जानकारी दिए । बैशाख ३ गतेदेखि जारी यस प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले २० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।