गर्मीले जनजीवन आकुलब्याकुल : खरबुजासहित चिसो पियपदार्थको व्यापार बढ्यो

लालबन्दी – केही दिनदेखि निरन्तर बढेको गर्मीले सर्लाहीसहित तराई क्षेत्रको जनजीवन आकुलब्याकुल बनेको छ ।


गर्मीले मानिसहरु छट्पटिन थालेका छन् । यहाँ तापक्रम दिनहुँ बढ्दो छ । विगत ३ दिनदेखि सर्लाहीको तापक्रम ३८ देखि ४० डिग्रीको आसपासमा पुगिरहेको छ ।


गर्मी र असाध्य तातो घामले गर्दा दिउँसोपख घरबाहिर निस्कनै मुस्किल पर्छ । गर्मीले ज्याला मजदुरी गरेर खाने मजदुर परिवार र खेतबारीमा काम गर्नुपर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन् ।


घाम र गर्मीले काम गरेर खान समस्या परेको उनीहरुको गुनासो छ । गर्मीले गर्दा टाउको दुख्ने, मुर्छा पर्ने, शरीर आलस्य हुनेजस्ता स्वास्थ्य समस्या भएका बिरामीहरु निकै बढेका छन् ।


जिल्लाको दक्षिणी भेगका ग्रामीण बस्तीहरु गर्मी र धूलो धुँवाबाट झनै बढी प्रभावित भएका हाम्रा संवाददाताहरुले जनाएका छन् । गोडैता निवासी संचारकर्मी राधेश्याम कुशवाहाले दक्षिणी भेगका नागरिक गर्मीसँगै सडकको धुलोले आजित भइरहेका बताए ।


कुशवाहाले दक्षिणी भेगका नागरिकलाई सदरमुकाम मलंगवासम्म आउजाउ गर्नुपर्दा अहिले गर्मीसँगै हुलाकी सडकको धुलोले निकै सताएको जानकारी दिए । जिल्लामा पूर्व–पश्चिम हुलाकी सडकसँगै अन्य भित्री सडकहरु अहिले असाध्य खराब छन् ।


यसबेला ट्याक्टर, टिपरजस्ता निर्माण सामग्री बोकेका सवारी धेरै दौडिँदा सडकहरु खराब भएका छन् । यसैबीच, गर्मी बढ्दै जाँदा पूर्व–पश्चिम राजमार्ग क्षेत्रका लालबन्दी, नवलपुर, हरिवन, बागमतीसहित अन्य बजार क्षेत्रमा खरबुजाको व्यापार निकै बढेको छ ।


लालबन्दी बजारमा मात्रै एक दर्जन भन्दा बढी व्यक्ति ठेलामा खरबुजा बेच्न बसेका छन् । यस्तै, गाउँदेखि सहर बजारसम्म अहिले चिसो पिय पदार्थहरुको व्यापार बढेको व्यापारीहरुले बताएका छन् ।


प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशोर झाले बढ्दो गर्मीबाट जोगिन चर्को घाम लागेको र तातो हावा चलेको बेला घरबाहिर ननिस्कन अनी शरीरलाई शित्तलता दिने खानेकुरा पर्याप्त खान सुझाव दिएका छन् । गर्मीको राप र हावा चल्ने अहिलेको समयमा आगलागीको समेत उत्तिकै जोखिम हुने भएकाले सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।