‘सडनडेथ’मा मछिन्द्रलाई पाखा लगाउँदै पिप्लेद्वारा राजर्षि जनक कपको उपाधि रक्षा

छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको प्रथम उपाधि सहित पिप्ले युवा क्लब हेटौंडाका प्रशिक्षक सुविन घिमिरे एवं खेलाडीहरु । (तस्बिर : उज्यालो अभियान)
दोस्रो शिल्ड सहित उपविजेता मछिन्द्र फुटबल क्लबका प्रशिक्षक र खेलाडीहरु । (तस्बिर : उज्यालो अभियान)

बागमती – सर्लाहीको बागमतीमा सम्पन्न छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि पिप्ले युवा क्लब हेटौंडाले चुमेको छ । आईतबार साँझ सम्पन्न फाईनल खेलमा शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई सडनडेथमा पाखा लगाउँदै डिफेण्डिङ च्याम्पियन पिप्लेले राजर्षि जनक कप रनिङ शिल्ड लगातार दोस्रो पटक आफ्नै पोल्टामा राख्न सफल भयो । उपाधीसँगै पिप्लेले नगद १० लाख १ हजार रुपैंया हात पार्यो ।

लगातार दुई पटक नेपालको लिग च्याम्पियन मछिन्द्र राजर्षि जनक कपको उपाधी चुम्ने तयारीका साथ यस प्रतियोगितामा पहिलो पटक सहभागि भएपनि नकआउट फुटबलमा अभागी सावित हुँदै उपविजेतामै सिमित बन्न पुग्यो । उपविजेतामा सिमित मछिन्द्रले नगद ५ लाख ५०० रुपैंया मात्र पायो ।

‘बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स’ घोषणा गर्दै बागमती युवा क्लबबाट खेलेका विमल घिसिङलाई मोटरसाईकल प्रदान गरिँदै । (तस्बिर : उज्यालो अभियान)

९० मिनेटको निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल ट्राईबेकरमा पुगेको हो । ट्राईबेकरमा समेत बराबरी भएपछि सडनडेथमा पिप्ले भाग्यमानी सावित हुँदै पुनः विजेता बन्न सफल भयो । अब अर्को पटक राजर्षि जनक कपको उपाधि चुमे पिप्लेले ४ लाख ५० हजार रुपैंया भन्दा बढी लागतको मधेश प्रदेशकै शान राजर्षि जनक कप फुटबल प्रतियोगिताको प्रथम रनिङ शिल्ड सदाका लागि आफैले राख्न पाउने पहिलो भाग्यमानी टिम समेत बन्ने छ ।

दुवै टिमका ५–५ जना खेलाडी सहभागि ट्राईबेकरमा पिप्लेका कप्तान अमिर श्रेष्ठ, अशोक खवास र समिर ठोक्करले गोल गरे । कुलदिप कार्कीले प्रहार गरेको बल क्रसबारमा ठोक्किएर बाहिरियो भने अफ्रिकन खेलाडी मार्टिनले प्रहार गरेको बल मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

त्यस्तै मछिन्द्रको तर्फबाट राष्ट्रिय स्ट्राईकर समेत रहेका विमल घर्ती मगरले गरेको पहिलो प्रहार नै पिप्लेका गोलरक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरे । मछिन्द्रका कप्तान सुजल श्रेष्ठ, विजय धिमाल र अफ्रिकन खेलाडी करिमले गोल गर्दा राष्ट्रिय डिफेण्डर देवेन्द्र तामाङको प्रहार पनि पिप्लेका गोलरक्षक बरालले रोके । ट्राईबेकरमा ३–३ गोलको बराबरी भएपछि नतिजाका लागि खेल सडनडेथमा पुग्यो । सडनडेथमा मछिन्द्रका छिरिङ गुरुङले प्रहार गरेको बल क्रसबारमा ठोक्किदै बाहिरिँदा रुपक लामाले सहजै गोल गर्दै पिप्लेको जीतका लागि निर्णायक गोल गरे । लामाको गोलसँगै खेलका मुख्य निर्णायक फिफा रेफ्रि प्रज्वल क्षेत्रीले पिप्ले विजयी भएको घोषणा सहित लामो हुसिल बजाए ।

त्यसअघि निर्धारित समयमा खेल सूरु भएको तेस्रो मिनेटमै मच्छिन्द्रका जर्सी नम्बर ७७ का नुर्लानले डिबक्स भन्दा केही बाहिरबाट सशक्त प्रहार गरेको बललाई पिप्लेका गोल रक्षक बरालले पंचिङ गरेर बाहिर फाल्दै उत्कृष्ट बचाउन गरे । मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ, बिमल घर्ती मगर लगायत खेलाडीले पटक–पटक सशक्त प्रहार गरेको बल क्रसबार भन्दा केही माथिबाट बाहिरियो । उनीहरुले पिप्लेका गोलरक्षक अशोक बरालसँग वान भर्सेज वानको अवस्थामा समेत गोल गर्न सकेन्न ।

नेपालका स्टार राष्ट्रिय खेलाडीहरु विमल घर्ती मगर, सुजल श्रेष्ठ, विशाल राई, देवेन्द्र तामाङ, अभिषेक रिजाल, राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ सहित अफ्रिकन मूलका राम्रा विदेशी खेलाडी समेत मैदानमा उतारेको मछिन्द्रलाई मोफसलमा संघर्षरत पिप्ले युवा क्लबका खेडालीले खेल अवधीभर अपत्यारिलो ढंगले टकराव दिए । मध्यान्तर पछि खेल सकिन २० मिनेटजति बाँकी छँदा त मछिन्द्रमाथि पिप्लेका खेलाडीहरु निकै हाबी देखिएका थिए । पिप्लेका खेलाडीहरुले मछिन्द्रको गोलपोष्टमा निरन्तर आक्रमण प्रयास गरेका थिए । पिप्लेका रितिक अधिकारी र अफ्रिकन खेलाडि मार्टिनले निकै राम्रो अवसरलाई गोलमा परिणत गर्न सकेन्न । पिप्लेको अग्रपंक्तिमा अफ्रिकन खेलाडी मार्टिनका लागि भरपर्दो जोडीको अभाव खड्किएको थियो । जसले गर्दा पिप्लेले प्राप्त गरेका राम्रा राम्रा अवसरहरु पनि खेर गएको थियो ।

फाईनल खेल दुवै टिमका खेलाडीले भिडेर खेलेका कारण निकै प्रतिष्पर्धात्मक बनेको थियो । अत्यन्त प्रतिष्पर्धात्मक र दुवै टिमका खेलाडीले छिनछिनमै विपक्षीको गोलपोष्टतर्फ आक्रमणहरु गरिरहेका कारण फाईनल खेलमा दर्शकले भरपुर आनन्द लिएका थिए । आईतबारको फाईनल खेलमा पिप्लेका गोलरक्षक अशोक बराल म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार हात पारे ।

डिफेण्डिङ च्याम्पियन पिप्ले युवा क्लबले हिमालयन शेर्पा क्लब काठमाडौंलाई निर्धारित समयमा ३–० गोलले र आयोजक बागमती युवा क्लबलाई ट्राईबेकरमा हराउँदै तथा मछिन्द्रले सशक्त विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनलाई सडनडेथ र राजर्षिको दोस्रो संस्करण विजेता सुदूरपश्चिम–११, धनगडीलाई निर्धारित समयमा ३–१ गोलले पराजित गर्दै फाईनल प्रतिष्पर्धामा भेट गरेका हुन् ।

विजयी पिप्लेका प्रशिक्षक सुविन घिमिरेले लगातार पछिल्लो दुई संस्करणको नेपाल लिग विजेता टिमसँग खेलाडीहरुले हरेस नखाईकन मेहेनत गरेका कारण नतिजा आफ्नो पक्षमा आएको प्रतिक्रिया दिए । ‘नेपालकै ए डिभिजन लिग च्याम्पियन मछिन्द्र जस्तो बलियो टिमलाई हराएर अघिल्लो संस्करणदेखि हाम्रो कब्जामा रहेको राजर्षि जनक कप रनिङ शिल्डलाई आफ्नै पोल्टामा राख्न सफल भयौं, हाँमी अत्यन्त खुसी छौं’, घिमिरेले भने, ‘नेपालका स्टार खेलाडीहरु विरुद्ध पनि खेल अवधिभर हाम्रा खेलाडीले बल नियन्त्रणमा राखेर निकै मेहेनतका साथ खेले, जसले गर्दा हाँमी विजेताको हकदार बन्यौं ।’ मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने आफ्नो टिमलाई भाग्यले साथ नदिएको बताए । निर्धारित खेलमा निकै राम्रा अवसर पाउँदा पनि गोल गर्न चुकेका कारण खेल ट्राईबेकर हुँदै सडनडेथमा पुगेको र स्टार खेलाडीले समेत गोल गर्न नसक्दा आफ्नो टिम अभागि देखिएको कटुवालले स्वीकारे ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पिप्ले युवा क्लबका जर्सी नम्बर १७ का रुपक लामा भएका छन् । उनले नगद ५१ हजार हात पारे । त्यस्तै उत्कृष्ट गोलकिपर मछिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, उत्कृष्ट स्ट्राइकर मछिन्द्रका विमल घर्ती मगर, उत्कृष्ट मिडफिल्डर मछिन्द्रकै सुजल श्रेष्ठ र उत्कृष्ट डिफेन्डर बागमती युवा क्लबका अमर श्रेष्ठ घोषित भए । उनीहरु सबैले जनही २५/२५ हजार रुपैंया नगद पुरस्कार पाएका छन् । त्यस्तै बागमती नगरपालिका भित्रका एक उदीयमान खेलाडीलाई ‘बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स’ घोषणा गर्दै मोटरसाईकल पाउनेमा भने बागमती युवा क्लबबाट खेलेका विमल घिसिङ भाग्यमानी सावित भए । प्रतियोगिताका म्याच कमिस्नर दिपक लामाका अनुसार घिसिङलाई बजाज कम्पनीको २०० सीसी एनएस पल्सर मोटरसाईकल प्रदान गरिएको छ ।

विजेता एवं उपविजेता सहित विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, विशिष्ट अतिथि बागमती नगरपालिकाका प्रमुख भरत थापा, उपप्रमुख लिलाकुमारी मोक्तान, आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनाली लगायतले शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता सफल रुपले सम्पन्न गर्नका लागि अहोरात्र खट्ने क्लबका पदाधिकारी, स्वयंसेवक, स्थानीय बासिन्दा, सुरक्षाकर्मी, आर्थिक रुपले समेत सहयोग गर्ने बागमती नगरपालिका एवं नगरपालिका सम्बद्ध जनप्रतिनिधि र कर्मचारी सहित अन्य सम्पूर्ण सरकारी एवं गैर सरकारी संघ संस्था तथा व्यक्तित्वहरुप्रति आयोजक बागमती युवा क्लबका अध्यक्ष मैनालीले आभार प्रकट गर्दै आगामी दिनमा समेत आपसी सहयोग, सद्भाव र शुभेच्छा कायमै रहने विश्वास व्यक्त गरे ।

चैत २ गतेबाट सूरु भएको प्रतियोगितामा विजेता पिप्ले युवा क्लब र उपविजेता मछिन्द्र फुटलब क्लब बाहेक नेपाल पुलिस क्लब काठमाडौं, सशस्त्र प्रहरीको एपिएफ क्लब, हिमालयन शेर्पा क्लब काठमाडौं, न्यूरोड टिम ९एनआरटी० काठमाडौं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन, आयोजक बागमती युवा क्लब सहभागि भएको आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।