राजर्षि जनक कप उपाधिका लागि मच्छिन्द्र र पिप्ले बीचकाे फाईनल खेल सूरु

बागमती – सर्लाहीको बागमतीमा जारी छैटौं राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत उपाधिका लागि मछिन्द्र फुटबल क्लब काठमाडाैं र पिप्ले युवा क्लब हेटाैंडा बीच आईतबार दिउँसाे ४ बजेर १२ मिनेटमा फाईनल खेल सूरु भएकाे छ ।

प्रतियाेगिता समापन समाराेह आयाेजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीकाे अध्यक्षता एवं अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाकाे प्रमुख आतिथ्यता रहेकाे छ । फाईनल खेलकाे उद्घाटन एन्फा अध्यक्ष शेर्पाले पानसमा बत्ति बालेर गरेका छन् । समाराेहमा बागमती नगरपालिकाका मेयर भरत थापा, उपमेयर लिला कुमारी माेक्तान लगायतकाे विशिष्ट आतिथ्यता रहेकाे छ ।

फिफा रेफ्रि प्रज्वल क्षेत्री मुख्य निर्णायक रहेका फाईनल खेलमा मछिन्द्र फुटबल क्लब सुजल श्रेष्ठकाे तथा पिप्ले युवा क्लब अमिर श्रेष्ठकाे कप्तानीमा मैदानमा उत्रिएकाे छ । मछिन्द्रले कप्तान श्रेष्ठ सहित विमल घर्ती मगर, विशाल राई, देवेन्द्र तामाङ, अभिषेक रिजाल, गाेलकिपर विशाल श्रेष्ठ जस्ता स्टार राष्ट्रिय खेलाडी तथा अफ्रिकन मुलका विदेशी खेलाडी समेत मैदानमा उतारेकाे छ । त्यस्तै पिप्लेले पनि ए डिभिजन लिग खेलेका खेलाडीहरु तथा अफ्रिकन खेलाडी समेत मैदानमा उतारेकाे छ ।

फाईनल यात्रा तय गरेर दाेस्राे पुरस्कार नगद ५ लाख ५०० रुपैंया सुनिश्चित गरिसकेका दुई टिम उपाधी चुम्दै नगद १० लाख १ हजार रूपैंयाका लागि भिडेका हुन् । यद्यपि प्रथम उपाधि कसकाे पाेल्टामा जाने हाे भन्ने थाहा पाउन चाँहि फाईनल खेलकाे निर्धारित समय र त्यसमा पनि बराबरी भए ट्राईबेकर हुँदै सडनडेथसम्म कुर्नुकाे विकल्प छैन ।

फाेटाे क्याप्सन : फाईनल खेलका लागि मैदानमा उत्रिएका खेलाडीहरु, तथा फाईनल समाराेहमा उपस्थित व्यक्तित्वहरु । (तस्वीर : उज्यालाे अभियान)