गण्डकीका मुख्यमन्त्री नेपालीले सयर गरे सर्लाहीकाे भरत ताल

बागमती – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सर्लाहीको बागमती स्थित निर्माणाधीन भरत तालमा सयर गरेका छन् ।

मुख्यमन्त्री नेपाली, मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो लगायतले ´मिनी क्रुज`मा भरत ताल सयर गरेका हुन् । सोही क्रममा मुख्यमन्त्री नेपालीले तालको निर्माणको अवस्था यसको भावी योजना, तालले भविष्यमा यस क्षेत्रको नागरिक र नगरको आर्थिक, सामाजिक, भौतिक विकासमा खेल्ने भूमिकाको विषयमा समेत जानकारी लिए ।

मुख्यमन्त्री पोखरेल मधेश प्रदेशका विभिन्न स्थानको भ्रमणका क्रममा आईतबार दिउँसाे सर्लाहीको बागमतीस्थित भरत तालमा आइपुगेका हुन् । १८ सदस्यीय टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री पोखरेलको भ्रमण टोली बागमती आइपुगेको बागमती नगरपालिका कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीको भ्रमण टोलीलाई मधेश प्रदेशका विभिन्न स्थान घुमाउन मधेश प्रदेश सरकारकाे तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको निमन्त्रणामा केही समय पहिला मात्र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गण्डकी प्रदेश भ्रमणमा पुगेका थिए । सोही समयमा मुख्यमन्त्री राउतले नेपालीलाई मधेश प्रदेश भ्रमणको निम्ता दिएका थिए । सोही आतिथ्यता स्वीकार गर्दै आफू मधेश प्रदेश भ्रमणमा आएको मुख्यमन्त्री नेपालीले बताए ।

मुख्यमन्त्रीको टोली हिजै रौतहटको नुनथर क्षेत्रको अवलोकन भ्रमणपछि पर्सा राष्ट्रिय निकुञ्जका लागि प्रस्थान गरेको छ । मुख्यमन्त्री नेपालीले प्रसिद्द गढीमाई मन्दिरमा पूजाआजा समेत गर्ने बताईएकाे छ ।

फाेटाे क्याप्सन : भरत ताल सयर गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहितकाे टाेली । (तस्बिर : उज्यालाे अभियान)