माझी समुदायले गरे बागमतीमा धुमधामसँग लदी पूजा (फोटो फिचर सहित)

माझी समुदायका युवायुवतीहरु । (तस्बीर : उज्यालो अभियान)

श्रवण थापा/बागमती – सर्लाहीका माझी समुदायले बागमती नदीमा धुमधामका साथ सामुहिक रुपमा लदी अर्थात नदी पूजा गरेका छन् ।

नेपाल माझी उत्थान सघं सर्लाहीको आयोजनामा पहिलोपटक बागमती नदी किनारमा लदि पूजा गरिएको हो । बागमती नगरपालिका–१२, स्थित भरत ताल प्रांगणमा मंगलबार बिहान पूजाआजा गर्दै माझी समुदायले लदी पर्व मनाएका हुन् ।

लदी अर्थात नदि पुजा गर्न जिल्ला स्थित विभिन्न स्थानका माझी समुदाय वागमतीमा भेला भएका थिए । हालसम्म आ–आफ्नै घरमा छोरी चेलीलाई बोलाई मिठो मसिनो खाएर लदी पर्व मनाउने गरिएकामा यसवर्ष भने जिल्लामै पहिलो पटक भब्य कार्यक्रमका विच वागमती नदीमा पूजाआजा सहित लदी पर्व मनाईएको संघका जिल्ला सह–सचिव राज कुमार कुश्वारले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानबाट बिहानै बागमती नदि किनार पुगेका उनीहरुले आफ्नो परम्परा अनुसार पूजा-आजा गरेका थिए । माझी समुदायले प्रतेक बर्ष फागुनको तेस्रो मंगलवारका दिन लदी पूजा गर्ने गरेका छन् । यस मंगलवारलाई माझी सस्कृती अनुसार साईली मंगलवार समेत भन्ने गरिएको माझी जानकारहरुको भनाई छ ।

पुजाआजा पछि बागमती नगरपालिका स्थित पुतली चोकमा जम्मा भएका उनीहरुले बागमती पुल हुदै कार्यक्रम स्थल सम्म र्याली निकालेका थिए । कार्यक्रम स्थल भरत ताल पुगेर र्याली सभामा परिणत भएको थियो । कार्यक्रममा माझी समुदायका बालबालिका, युवा युवती देखी बृद्ध बृद्धा समेत आफ्नो परम्परागत पोसाकमा सजिएर पुगेका थिए ।

गाउँ–गाउँबाट ट्याक्टर तथा बस रिर्जभ गरेर पुगेका माझी समुदायका युवा युवतीहरुको चहल पहलले भरत ताल क्षेत्र मंगलवार दिनभर भरिभराउ बन्यो । संस्कृतीको संरक्षणको लागि माझी समुदायको यस पर्वलाई भब्यताका साथ आयोजना गरिएकोे संघले जनाएको छ ।

लदी पूजाको मौलिकता लोप हुने अवस्थमा पुगेको र यसको औचित्य समेत सबैलाई थाहा नभएकोले कार्यक्रमका अधिकांश वक्ताहरुको भनाई थियो । माझी समुदायको मौलिक परम्पराको रुपमा रहेकोले लदी पर्वलाई अभियानको रुपमा मनाईएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेको बागमती प्रदेशका सांसद बसन्त माझीले बताए । लदी पर्व आफ्नो संस्कृती मात्र नभएर पहिचान समेत भएको पुजा समितिका कुमार माझीले बताए । माझी समुदाय भित्रै यसको आवश्यक्ता र औचित्य प्रष्ट पार्नु पर्ने कुरामा बक्ताहरुले बिषेश जोड समेत दिए ।

सयौँ बर्षदेखी ढुंगा खियाउने र माछा मार्ने पेसालाई आफ्नो मुख्य पेसा मान्दै आएका माझी समुदायले नदीलाई भगवानको रुपमा पुज्ने गर्दछन् । उनीहरु आफुलाई प्रकृती पूजकका रुपमा समेत चिनाउने गरेका छन् । यसरी गरीने लदी पूजामा माझी समुुदायका पुजारीहरुले नदीमा जस्तो सुकै भेल आए पनि ढुंगा खियाउन सकियोस भनेर बरदान माग्ने उनीहरुको भनाई छ । पछिल्लो समय खोलामा बनेका पक्कि पुल र नदीमा माछा समेत पाहिन छाडेपछि आफुहरुको पेसा नै लोप हुदै गएको स्थानीको भनाई छ ।

यहाँका माझी समुदायले आफ्नो उदगमथलो रामेछापलाई मान्दैआएका छन् । बिषेश गरेर सर्लाहीमा माझी समुदायको बागमती, हजरिया, बेताली, ईश्वरपुर, भक्तिपुर, सागरनाथ, लालबन्दी रंजितपुर, परवानीपुर, जियाजोर, पत्थरकोट लगाएतका स्थानका बसोवास रहेको छ ।

जिल्लाभरीमा ७ हजारको हाराहारीमा माझीहरुकोे बसोवास रहेको नेपाल माझी उत्थान संघ सर्लाहीले उल्लेख गरेको छ । कार्यक्रममा माझी समुदायका युवा युवतीहरुले आफ्नो भेषभुषामा नृत्य लगाएतका सांस्कृतीक प्रस्तुती समेत प्रस्तुत गरे ।

कार्यक्रम नेपाल माझी उत्थान संघका बागमती नगर सभापति कुमार माझीको सभापतित्वमा सम्पन्न भएको हो । समारोहमा बागमती प्रदेश सांसद वसन्त माझीको प्रमुख आतिथ्यता र बागमती प्रदेश सांसद रिता माझीको विशिष्ट अतिथ्यता रहेको थियो ।

मधेश प्रदेश सांसद बेची लुंगेली, बागमती नगरपालिका मेयर भरत कुमार थापा, बरहथवा नगरपालिकाकी उपमेयर सिता माझी, बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, माओवादी केन्द्रका जिल्ला संयोजक कमल बुढाथोकी, नेकपा एकिकृत समाजवादीका जिल्ला संयोजक सुरेन्द्र लामा विभिन्न पार्टीका नेताहरु लेखराम जर्घा, गोकुल बस्नेत लगाएतको आतिथ्यता रहेको थियो ।

यस्तै, लालबन्दी नगरपालिका–१२ र १३ का माझी समुदायले भने पत्थरकोट छेंडास्थित ठूलो चौतारा नजिक लखन्देही खोला किनारमा लदी पूजा मनाएका छन् ।