कोरोना संक्रमणमुक्त भएपछि नियमित काममा फर्किए सर्लाहीका सीडीओ र एसपी

लालबन्दी – सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतम र प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाई कोरोना संक्रमणमुक्त भएका छन् ।

उनीहरु दुबैमा गएको पुस २६ गते एकैसाथ कोरोना संक्रमण पुष्टी भएको थियो । १० दिन आइसोलेसनमा बसेका उनीहरुको एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्दा रिपोर्ट समेत नेगेटिभ आएको छ । संक्रमणमुक्त भएपछि बिहीबारबाट नियमित काममा समेत फर्किसकेको प्रमुख जिल्ला अधिकारी गौतमले उज्यालो अभियान दैनिकका समाचार प्रमुख जनार्जन खत्रीसँगको कुराकानीमा बताए ।

प्रमुख जिल्ला अधिकारी गौतम र प्रहरी उपरीक्षक प्रसाईले बिहीबार बरहथवा नगरपालिका–३, हजरियामा पुगेर त्यहाँ रहेको सरस्वती माध्यमिक विद्यालयका १६५ जना विद्यार्थीलाई स्वीटर वितरण गरेका छन् । प्रजिअ गौतमकै अध्यक्षतामा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक प्रसाई, ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादव, बरहथवा नगरपालिका २ का वडाध्यक्ष यज्ञबहादुर खड्का, वडा नं. ४ का वडाध्यक्ष लखेन्द्र महतो, विद्यालयका प्रधानाध्यापक भरत महतो लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी, बिहीबार नै प्रमुख जिल्ला अधिकारी गौतम, प्रहरी उपरीक्षक प्रसाई, हरिवनस्थित सशस्त्र प्रहरी बेश क्याम्पसका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास भुजेल लगायतले हरिवन नगरपालिका–९ नयाँरोडमा रहेको मानव सेवाश्रमको निरीक्षण गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्यूटर अपरेटर मुकेश यादवले जानकारी दिए । उनीहरुले सो आश्रममा आगो ताप्नका लागि दाउरा समेत वितरण गरेका छन् ।

यस्तै, प्रमुख जिल्ला अधिकारी गौतम र प्रहरी उपरीक्षक प्रसाईले लालबन्दी नगरपालिका २ जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा पनि निरीक्षण गर्दै वृद्धवृद्धालाई आगो ताप्नका लागि दाउरा उपलब्ध गराएका आश्रमकी व्यवस्थापन भवानी कोइरालाले बताईन् ।
यसैबीच, सदरमुकाम मलंगवा नगरपालिकाका मेयर निरसल साह पनि कोरोना संक्रमणमुक्त भएका छन् । सीडीओ र एसपीमा कोरोना पुष्टी भएपछि कन्ट्याक्ट टे«सिङमा परेका मेयर साहले पुस २७ गते परीक्षण गराउँदा कोरोना पुष्टी भएको थियो ।

बुधबार पुनः जाँच गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि मेयर साह पनि बिहीबारबाट कार्यालयको काममा फर्किसकेका मेयर साहका सहयोगी गजेन्द्र साहले उज्यालो अभियानसँग बताएका छन् । पुस २८ गते कोरोना पुष्टी भएका सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भरत खनियाँ र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख (एसपी) चन्दन झा अहिले आइसोलेसनमै छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सर्लाहीमा अहिले तेस्रो लहरको कोरोना संक्रमणबाट संक्रमित भएका ३३ जना संक्रमित छन् । उनीहरु सबै होम आइसोलेसनमै छन् ।