हरिवनमा ३५० जना गरिब दिनदुःखीलाई न्यानो कपडा र मिष्ठान्न भाेजन

हरिवन – हरेक वर्ष झैँ माघे संक्रान्तिको अवसर पारेर आनन्द मार्ग प्रचारक संघ (आमर्ट नेपाल) ले शनिबार सर्लाहीको हरिवनमा दिन दुःखी तथा गरिवहरुलाई न्यानो कपडा वितरण एवं मिष्ठान्न भाेजन गराएको छ ।

संस्थाले पूर्व–पश्चिम राजमार्गस्थित हरिवन बजारमा जिल्लाका विभिन्न स्थानबाट भेला भएका गरिब तथा विपन्नहरुलाई कम्बलसहित साडी, चोलो, जुत्ता, चप्पल लगायत प्रदान गरेको हो । वर्षमा एक दिन माघे संक्रान्तिको दिन आनन्द मार्गले न्यानो कपडा वितरण गर्ने थाहा पाएर जिल्लाका विभिन्न स्थानबाट आय आर्जन न्यून भएकाहरु न्यानो कपडा लिन हरिवन आउने गरेका छन् ।

वार्षिक कार्यक्रम अनुसार यो वर्ष जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रदेश सभा सदस्य डिल्ली उप्रेती, हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष मेहबुब रेजा लगायतको उपस्थितिमा गरिब दिनदुःखीहरुलाई न्यानो कपडा प्रदान गरिएको आनन्द मार्ग प्रचारक संघ सर्लाहीका कोषाध्यक्ष बैजु साहले जानकारी दिए । कार्यक्रममा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले आनन्द मार्ग प्रचारक संघको भवन निर्माण गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको संस्थाका अध्यक्ष हरिशंकर चौधरीले बताएका छन् ।

फाेटाे क्याप्सन : कार्यक्रममा उपस्थित दिनदुःखी एवं विपन्नहरु ।