सर्लाहीमा थपियो दैनिक पत्रिका, पालिका टूडेको बिमोचन

मलंगवा – सर्लाहीको दक्षिण पश्चिम क्षेत्र अन्तर्गतका पालिकाहरुलाई केन्द्रित गरेर प्रकाशनमा आएको पालिका टूडे दैनिक पत्रिकाको शनिबार सदरमुकाम मलंगवामा बिमोचन गरिएको छ ।

मलंगवास्थित जानकी पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ प्रदेश २ का कोषाध्यक्ष विश्वनाथ ठाकुरको प्रमुख आतिथ्यतामा पत्रिकाको बिमोचन गरिएको हो । पत्रिकाको प्रकाशक तथा सम्पादकमा निरज यादव रहेका छन् ।

कार्यक्रमका वक्ताहरुले जिल्लाको ग्रामीण क्षेत्रबाट प्रकाशित हुन लागेको पत्रिकाको सफलताको शुभकामना व्यक्त गरेका छन् । पत्रिका बिमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री, गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव, अन्य जनप्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति थियो ।