सर्लाहीको तापक्रम यस वर्षकै कम, ९ डिग्री सेल्सीयस मापन

चिसो छल्न आगो बालेर ताप्दै गरेका लालबन्दी नगरपालिका–९, बस्तीपुरका डोम समुदाय । (फाईल तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको तापक्रम आज(आईतबार) यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ ।

बिहान ७ बजे जिल्लाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सीयस मापन गरिएको हो । बिहानैदेखि बाक्लो हुस्सु लागेर शितलहर चलिरहेका कारण जिल्लाको न्यूनतम तापक्रम घटेको हो । हुस्सु र शितलहरले गर्दा सर्लाही र यसआसपासका जिल्लाका वासिन्दाले अत्यधिक चिसो महसुस गरिरहेका छन् । जिल्लाको उत्तरी चुरभेग, पूर्व–पश्चिम राजमार्ग तथा सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा पनि अहिले बाक्लो हुस्सु लागेर शितलहर चलिरहेको छ । चिसोले विपन्न परिवार, मजदुर, किसान र अशक्त मानिसहरु प्रभावित भएका छन् ।

चिसो छल्न सर्वसाधारणहरुले घर–घरमा तथा चौक बजारमा आगो बालेर तापिरहेका छन् । हुस्सु लागेर नजिकैको दृश्य समेत देख्न मुस्किल परेकाले पूर्व–पश्चिम राजमार्गसहित अन्य भित्री सडकहरुमा अहिले गाडीहरु बत्ती बालेर गुडिरहेका छन् । यस्तो मौसममा यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ । यस्तै, चिसोबाट जोगिन अत्यावश्यक काम पर्दाबाहेक घरबाहिर ननिस्कन, ताता र झोलिलो खानेकुरा बढी खान, सावधानीपूर्वक आगो ताप्न चिकित्सकहरुले सुझाव दिएका छन् ।