अन्नपूर्ण चिनी उद्याेग नचल्ने निश्चित

पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी उद्योग । (तस्बिर : उज्यालो अभियान)

धनकाैल – सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिल यो वर्ष पनि सञ्चालन नहुने भएको छ ।

जिल्लाको इन्दुशंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले किसानबाट धमाधम उखु लिएर क्रसिङ गरिरहँदा अन्नपूर्ण चिनी उद्योग धनकौल भने सञ्चालनको कुनै तयारी छैन् । उद्योग परिसर सुनसान छ । केही कर्मचारी र कामदार उद्योग कुरेर बसिरहेका छन् ।

नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले किसानहरुलाई लिएर उद्योगमा पुग्दा यो वर्ष पनि उद्योग सञ्चालनको कुनै तयारी नभएको पाइएको बताए । किसानको भुक्तानि दिन नसक्दा गत वर्ष पनि यो उद्योग सञ्चालनमा आउन सकेको थिएन । गाउँको उद्योग बन्द भइ अघिल्ला वर्षहरुमा बेचेको उखुको अझैपनि सम्पूर्ण भुक्तानि नदिँदा स्थानीय उखु किसानहरु निराश भएका छन् ।

उद्योगले अझै ६५ लाख बढी भुक्तानि दिन बाँकी रहेको त्यहाँ कार्यरत कर्मचारीले आफूहरुसँगको भेटमा बताएका नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले बताए । उनले यस वर्ष उद्योगका मालिक राकेश अग्रवालले उद्योग नै बिक्री गरिसकेका र नामसारीमा समय लागिरहेकाले उद्योग सञ्चालन हुन नसकेको बुझिएको जानकारी दिए ।

जिल्लाको इन्दुशङ्कर चिनी उद्योग हरिवनले पुस १५ र महालक्ष्मी चिनी उद्योग बगदहले पुस १६ गतेबाट निरन्तर उखु क्रसिङ गरिरहेका छन् । सरकारले यस वर्षका लागि उखुको मूल्य समेत तय गरिसकेको छ । उखुको मूल्य यो वर्ष प्रतिक्विन्टल ५९० रुपियाँ तोकिएको छ । किसानले यो मूल्य आफूहरुको हितमा नरहेको गुनासो गर्दै आइरहेका छन् । सरकारले मूल्य तय गरिसके पनि चिनी उद्योगहरुले किसानको उखु खरिद गरेपछि तौल पूर्जीमा अझै पनि मूल्य उल्लेख गरेकै छैनन् ।