बरहथवाकी सावित्री कुमारीको हत्यामा संलग्न तीन अभियुक्त पक्राउ

अभियुक्तलाई सार्वजनिक गरिँदै ।

बरहथवा – गत पुस २३ गते सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी एक महिलाको हत्यामा संलग्न तीन जनालाई शनिबार प्रहरीले सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यलय बरहथवाले घटनामा संलग्नहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । गत पुस १७ गतेबाट वेपत्ता भएकी बरहथवा नगरपालिका–१०, निवासी सुरत रामकी श्रीमती ३२ बर्षकी सावित्री कुमारी महराको घरबाट केही टाढा उखु बारीमा शव फेला परेको थियो ।

महिलाको शव सोही वडास्थित उखुबारीमा शरीरको विभिन्न भाग जलेको अवस्थामा फेला परेको थियो ।

घटनामा हरिवन नगरपालिका–१०, ताइवानका २७ वर्षका सन्तोष साह, सोही ठाउँका २७ वर्षकै मुकेश ब्लोन र २२ वर्षका रोहित हजरा संलग्न रहेको खुलेको छ । घटनाको अनुसन्धानका क्रममा घटनामा उनीहरुको संलग्नता पाइएको ईलाका प्रहरी कार्यलय बरहथवाका प्रमुख डिएसपी उमा शंकर यादवले जानकारी दिए ।

अनुसन्धानबाट मृतक महिला र अभियुक्त सन्तोष साहबीच केही समययता प्रेमसम्बन्ध रहेको खुलेको थियो ।

सोही सम्बन्धका कारण मृतक महिलाले अभियुक्त सन्तोषलाई आफूलाई भगाउन बारम्बार दबाब दिँदै आएकी थिइन् । विवाहित सन्तोषले भगाउन नसक्ने भएपछि गाउँकै दुई साथीहरुलाई केही पैसा दिने लोभसमेत देखाएर हत्या गरेका प्रहरीले जनाएको हो ।

प्रहरीले घटनामा प्रयोग भएको एक थान मोटरसाईकल तथा घटनास्थलबाट बरामद भएको सामाग्री समेत पत्रकार सम्मेलनको क्रममा सार्वजनिक गरेको थियो ।

मृतक महिलाका श्रीमान् विगत १० बर्षदेखि रोजगारीको शिलशिलामा कतारमा रहेका थिए । उनी गत २ बर्ष पहिला मात्र नेपाल आएर गएका थिए । उनीहरुको १२ र ५ बर्षका दुई छोरा र ८ बर्षकी एक छोरी गरी तीन सन्तान रहेको पारिवारिक स्रोतले जनाएको छ ।