नारायण उप्रेतीको २९ औँ स्मृति दिवस मनाइयो

हरिवन – सर्लाहीको हरिवनमा विहिबार स्वर्गिय नारायण उप्रेतीको २९ औँ स्मृति दिवस मनाइएको छ ।

प्रजातन्त्र प्राप्तीपछि उप्रेती साबिक हरिवन गाविसको पहिलो गाविस अध्यक्षमा निर्वाचित भएका थिए । उप्रेतीको त्यसबेला प्रहरी यातनाबाट ज्यान गएको थियो । नारायण उप्रेती स्मृति प्रतिष्ठानले बर्सेनि उप्रेतीको स्मृति दिवस मनाउँदै आएको छ । सोहीक्रममा विहिबार पुरानो हरिवन नगरपालिका भवन परिसर तथा हालको हरिवन नगरपालिका वडा नंं. १० र ११ को संयुक्त वडा कार्यालय परिसरमा रहेको उप्रेतीको शालिकमा माल्यार्पणसहित स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा हरिवन नगरपालिकाभित्र रहेका क्याम्पस तथा माध्यमिक विद्यालयबाट प्लटु र माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सबैभन्दा बढी अंक ल्याएर उतिर्ण भएका ९ जना विद्यार्थीलाई नगद र प्रशंसा पत्रबाट सम्मान गरिएको नारायण उप्रेती स्मृति प्रतिष्ठानका सदस्य सचिव विदुर प्याकुरेलले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष राजकुमार उप्रेतीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कमलादेवी महतोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरु रन्जना सरकार, बद्री प्रसाद न्यौपाने, कल्पना कटुवाल, पार्टीका प्रदेश २ उपाध्यक्ष रेवती पन्त, संविधान सभा सदस्य हरि उप्रेती, प्रदेश सभा सदस्य डिल्ली उप्रेती, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताहरुले स्वर्गिय उप्रेतीले निरंकुशताका विरुद्द एवं गाविस अध्यक्षमा निर्वाचित भएपछि पुर्याएको योगदानको चर्चा गरेका थिए ।