ईश्वरपुरमा महिला वडा सदस्य कुमहार बनिन् कार्यवाहक वडाध्यक्ष

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ११ कि एक महिला वडा सदस्यलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको छ ।

वडाध्यक्ष रामदुलार साह र अरु दुई जना वडा सदस्य भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेपछि बुधबार बसेको नगर कार्यपालिकाको बैठकले दुई जना महिला वडा सदस्यहरुमध्ये ज्येष्ठताको आधारमा महिला वडा सदस्य शैलियादेवी कुमहारलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकेको हो । वडा कार्यालयबाट हुने हरेक सिफारिसमा अब उनकै हस्ताक्षर चल्नेछ । कुमहारलाई बुधबार नै नगर प्रमुख मनाेज देवकाेटाले पद तथा गाेपनियताकाे शपथ खुवाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गरेपछि वडाध्यक्ष रामदुलार साह, वडा सदस्यहरु सोनेलाल साह रौनियार र उमेश राय निलम्बनमा परेका छन् । अख्तियारले उच्च अदालतमा मुद्दा दायर गरेसँगै उनिहरु गत पुस १६ गतेबाट निलम्बनमा परेका थिए । तारेखमा रहेका उनिहरु तीनै जना अहिले घर गाउँमै छन् ।

ईश्वरपुर नगरपालिका वडा नं. ११ को भलुवाहीमा सडक निर्माण कार्य सम्पन्न गरेपश्चात उपभोक्ता समितिसँग लिएको १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले गएको कात्तिक २९ गते वडा सदस्य सोनेलाल साह रौनियार र उमेश रायलाई लालबन्दीबाट रंगेहात पक्राउ गरेको थियो । अनुसन्धान गर्दै जाँदा वडाध्यक्ष रामदुलार साहको निर्देशनमा वडा सदस्य उमेश रायले घुसरकम लिएको र अर्का वडा सदस्य सोनेलाल साह रौनियारलाई राख्न दिएको खुलेको अख्तियारले जनाएको छ ।

यसैबीच, ईश्वरपुरमा अब दुई वटा वडामा कार्यवाहक वडाध्यक्ष महिला भएका छन् । यसअघि ईश्वरपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएपछि नगर कार्यपालिकाको बैठकले त्यहाँको ज्येष्ठ महिला वडा सदस्य विष्णुमाया सुस्लिङलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएको थियो ।

फाेटाे क्याप्सन : बुधबारबाट ईश्वरपुर नपा-११ काे कार्यबाहक वडाध्यक्ष बनेकी शैलियादेवी कुमहार । (तस्बिर : उज्यालाे अभियान)