सर्लाहीका सीडीओ र एसपीलाई कोरोना संक्रमण

सर्लाहीका सीडीओ थानेश्वर गौतम र एसपी कृष्ण प्रसाई ।

लालबन्दी – सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतम र प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

उनीहरु दुवै जनाले पीसीआर परीक्षणका लागि अस्ती बेलुका (आइतबार बेलुका) जिल्ला अस्पताल मलंगवामा स्वाब दिएका थिए । सोमबार साँझ दुवै जनाको पोजिटिभ अर्थात् कोरोना संक्रमण रहेको रिपोर्ट आएको हो ।

प्रमुख जिल्ला अधिकारी गौतमले सामान्य रुघाखोकी लागेपछि कोरोना परीक्षण गराएका थिए । त्यस्तै, प्रहरी उपरीक्षक प्रसाईले पनि आफू प्रायः प्रमुख जिल्ला अधिकारीसँगै रहने भएकाले प्रमुख जिल्ला अधिकारी गौतमले स्वाब दिएपछि उनले पनि सँगसँगै स्वाब दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी गौतम यसअघि पनि पहिलो र दोस्रो लहरमा दुई पटक कोरोना संक्रमित भई संक्रमणमुक्त भएका थिए । प्रमुख जिल्ला अधिकारी गौतमले मंगलबार बिहान उज्यालो अभियानका समाचार प्रमुख जनार्जन खत्रीसँगको कुराकानीमा आफूमा अहिले सामान्य खोकीबाहेक अन्य लक्षण नरहेको र प्रमुख जिल्ला अधिकारीको सरकारी निवासमै एकान्तबास अर्थात् आइसोलेसनमा बसेको बताएका छन् ।

यस्तै, प्रहरी उपरीक्षक प्रसाईको स्वास्थ्य अवस्था सामान्य नै छ भने उनी पनि जिल्ला प्रहरी कार्यालयमा एकान्तबासमा बसिसकेका बुझिएको छ । प्रमुख जिल्ला अधिकारी गौतम र प्रहरी उपरीक्षक प्रसाई दिनहुँ विभिन्न बैठक, छलफलमा सहभागी हुँदै आइरहेका थिए ।

उनीहरु अस्ती आइतबार मात्रै जिल्ला प्रशासन कार्यालयमै बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक र शनिबार बरहथवामा ईलाका प्रहरी कार्यालय बरहथवाको निरीक्षणसहित त्यहाँका सरोकारवालाहरुसँगको अन्तक्र्रिया कार्यक्रममा सहभागी भएका थिए । यसैगरी, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।