चिसाे बढेपछि धमाधम विद्यालय बन्द गरिँदै

लालबन्दी – चिसाे अत्यधिक बढ्दै गएपछि जिल्लामा धमाधम विद्यालयहरुकाे पठनपाठन बन्द गर्न थालिएकाे छ ।

यसै क्रममा सर्लाहीको लालबन्दी नगरपालिकाले अत्यधिक चिसो बढेपछि १० दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले मंगलबार सूचना निकालेर विद्यालय बन्द गरिएकोबारे जानकारी गराएको हो । हाल तराईमा लागेको हुस्सुको कारणले वातावरण चिसो हुँदै गएको हुँदा पठनपाठन कार्यमा कठिनाई उत्पन्न भएकाले आज (बुधबार) बाट आगामी ३० गतेसम्म नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिए । लालबन्दी नगरपालिकाभित्र ४८ वटा सामुदायिक र २८ वटा संस्थागत विद्यालय रहेका नगरपालिका कार्यालयले जनाएको छ ।

त्यस्तै, जिल्लाको कविलासी नगरपालिकाले पनि मंगलबारबाट आगामी २३ गते शुक्रबारसम्मका लागि नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र रायले मंगलबार सूचना निकालेर केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण चिसो बढेकाले विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी गराएका हुन् । यसअघि जिल्लाको ब्रह्मपुरी गाउँपालिकाले पनि सोमबारदेखि नै एक साताका लागि विद्यालय बन्द गरिसकेको छ ।

तराई क्षेत्रमा बिगत पाँच दिनदेखि बढेको चिसोले जनजीवन निकै कष्टकर बनेको छ । सर्लाहीमा मंगलबार भने दिउँसोपख केहीबेर घाम लाग्दा चिसोले कठ्याङ्ग्रिएका नागरिकले केही राहत महसुस गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गक्षेत्र र दक्षिणी भेगमा दिउँसो एकैछिन घाम लागेपनि उत्तरी भेगमा पर्ने पत्थरकोट, परवानीपुर, घारिबथान लगायत चुरेक्षेत्रमा भने बिहानैदेखि घाम लागेको थियो । मंगलबार बिहान सर्लाहीको तापक्रम यस वर्षकै सबैभन्दा कम १० डिग्री सेल्सीयस मापन गरिएको थियो ।