परीक्षा केन्द्र सारिएको भन्दै मलंगवामा बिद्यार्थीद्वारा टायर बालेर विराेध प्रदर्शन

मलंगवा- स्नातक तह चौथो वर्षको परीक्षा अन्तर्गत परीक्षा केन्द्र सारिएकाे विराेधमा सर्लाही क्याम्पस मलंगवाका विद्यार्थीले विराेध प्रदर्शन गरेका छन् । परीक्षाकाे मुखैमा आएर एक्कासी परीक्षा केन्द्र सारिएको भन्दै आक्राेशित विद्यार्थीहरुले क्याम्पस अगाडि नवलपुर-मलंगवा सडकखण्डमा टायर बालेर नाराबाजी सहित विराेध प्रदर्शन गरेका हुन् ।

बिद्यार्थीहरुले बिहानैदेखी क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन । बिरोधमा नाराबाजी सहित मलंगवा बजार परिक्रमा गरेका उनीहरुले सदरमुकाम मलंगवामा यातायात समेत चल्न दिएका छैनन् ।

पुस २० गते मंगलबारदेखि हुने परीक्षा अन्तर्गत सर्लाही क्याम्पस मलंगवाकाे परीक्षा केन्द्र साेही क्याम्पसमा नै ताेकिएकाे थियाे । तर शनिबार मात्र बरहथवा स्थित शुभजनता क्याम्पसबाट माैखिक रूपमा मलंगवाकाे प्रश्नपत्र त्यहाँ आएकाे र परीक्षा केन्द्र सरेकाे भन्ने जानकारी आएकाे सर्लाही क्याम्पस प्रमुख राजेश यादवले जानकारी दिए । विश्वविद्यालयकाे वेभसाईटमा मलंगवाकाे परीक्षा केन्द्र सारिएकाे बारे कुनै जानकारी नराखिएकाे र लिखित रूपमा क्याम्पस प्रशासनलाई कुनै जानकारी नआएकाे क्याम्पस प्रमुख यादवले बताए ।

अन्तिम समयमा परीक्षा केन्द्र सार्दा विद्यार्थीलाई काेठा खाेज्ने लगायत अत्यन्त समस्या आईपर्ने उल्लेख गर्दै क्याम्पस प्रमुख यादवले अन्य क्याम्पसकाे भने यथास्थान हाेम सेन्टर नै कायम रहनुले आफू आश्चर्यचकित बनेकाे बताए । मलंगवामा आउनुपर्ने प्रश्नपत्र कसरी बरहथवा पुग्याे भन्नेबारेमा आफुले बुझ्ने प्रयास गरिरहेकाे क्याम्पस प्रमुख यादवकाे भनाई छ ।