१६ वर्षीया अन्जली बनिन् पर्सा गाउँपालिकाको अध्यक्ष

एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइएकी अन्जली कुमारी साह । (तस्बीर : उज्यालो अभियान)

पर्सा – सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिकामा मंगलवार आयोजित एक कार्यक्रमका बीच १६ वर्षीया बालिका अन्जली कुमारी साह गाउँपालिकाका अध्यक्ष बनेकी छिन् ।

बाल अधिकारको प्रवद्र्धन र बालबालिकाको नेतृत्व क्षमता विकासका लागि पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले एक दिनको लागि पर्सा गाउँपालिकाको अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका हुन् । अध्यक्षको जिम्मेवारी ग्रहण पश्चात बोल्दै बाल क्लवको अध्यक्ष समेत रहेकी अन्जली कुमारी साहले बालिका शिक्षालाई जोड दिनु पर्ने र गाउँपालिका भित्रै प्राविधिक शिक्षालयको स्थापना गर्नु पर्ने आवश्यकता औंल्याईन् । नवनियुक्त अध्यक्ष साहले भनिन् “बाल अधिकार प्रवद्र्धन र बाल संरक्षणका लागि सबै पक्ष मिलेर क्रियाशील हुनु पर्छ ।”

यसैगरी नेतृत्व हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष किसुनदेव रायले शिक्षा र स्वास्थ्यमा गाउँपालिकाले लगानी गरिरहेको बताए । “बालमैत्री गाउँपालिका बनाउनका लागि भौतिक संरचना निर्माण गर्दा बालमैत्री बनाउने मात्र नभई बाल संरक्षणका लागि नीति, नियमावली निर्माण गरेर लागू गर्ने काम गाउँपालिकाले गरिरहेको छ ।” अध्यक्ष रायले भने ।

सोही कार्यक्रममा बोल्नु हुँदै पर्सा गाउँपालिका वडा नं. ३ का अध्यक्ष भिखारी साहले बालबालिकालाई नेतृत्वमा ल्याउने यस प्रकारको कार्यक्रम यस क्षेत्रमै नौलो अभ्यास भएको बताए । “यस प्रकारका क्रियाकलापले सांकेतिक रुपमा मात्र नभई बालबालिकाको प्रतिभा प्रस्फूटन र नेतृत्व क्षमता विकासमा मद्दत गर्छ ।” वडा अध्यक्ष साहले भने ।

सोही अवसरमा नेपाल राष्ट्रिय मा.वि. र पर्सा स्वास्थ्य चौकीमा अनुगमन भ्रमण समेत गरिएको थियो । यसैगरी कार्यपालिकाको बैठक बसी बालविवाह न्युनीकरणका लागि सूचनाहरु प्रचार प्रसार गर्ने, सम्पूर्ण वडाहरुमा बाल क्लव र बाल संजाल गठन गर्नका लागि गाउँपालिकाबाट ५० हजार बजेट बिनियोजन गर्ने र गाउँपालिकामा निर्माण हुने भौतिक संचनाहरु बालमैत्री बनाई आगामी ५ वर्षभित्र पर्सा गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने समेतका ऐतिहासिक निर्णय समेत गरिएको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा पर्सा गाउँपालिकाको आयोजना तथा बागमती सेवा समाज नेपाल र वल्र्डभिजन इन्टरनेसनल नेपालको सहयोगमा आयोजित उक्त कार्यक्रममा पर्सा गाउँपालिकाका उपाध्यक्ष इन्द्रकला देवी साह, बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, वल्र्डभिजन इन्टरनेशनल नेपालका प्रमिल अधिकारी, सीता चौधरी, पर्सा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइएकी अन्जली कुमारी साह । (तस्बीर : उज्यालो अभियान)