कांग्रेस सर्लाही : निर्वाचन अधिकृत रातीसम्म आइपुग्ने, वडा अधिवेशन पर्सी हुने

370

लालबन्दी – नेपाली काँग्रेस सर्लाहीको अधिवेशन गराउन तेस्रो पटक खटाइएका निर्वाचन अधिकृत भरत राउत सर्लाहीका लागि प्रस्थान गरेका छन् ।

आफू काठमाण्डौंबाट जनकपुर विमानस्थल हुँदै रातीसम्ममा सर्लाही आइपुग्ने निर्वाचन अधिकृत राउतले उज्यालो अभियानसँग बताए । निर्वाचन राउतले आज अपरान्ह ४ बजेको टिकट काटेपनि विमान उडन डिले भएको छ । अघि साँझ ५ः५० बजेतिर उज्यालोसँगको कुराकानीमा आफू अब विमान चढ्न ठीक्क परेको निर्वाचन अधिकृत राउतले बताए ।

राउतले रातीसम्म जिल्ला आएर भोली पार्टीका दुवै पक्षका नेताहरु, वडा स्तरमा मतदान अधिकृतका रुपमा खटिने शिक्षकहरु लगायत सबै सरोकारवालाहरुलाई राखेर निर्वाचन प्रक्रिया, केन्द्रीय कार्यालयको निर्देशिका लगायतबारे जानकारी गराउने र पर्सी सुक्रवार वडा अधिवेशन गराइने बताए । उनले अब १४ औँ महाधिवेशनलाई लक्षित गरी वडा, क्षेत्र र प्रदेशको मात्रै निर्वाचन गराईने बताए ।

पालिका र जिल्ला अधिवेशन अहिले नगरिने उनले जानकारी दिए । सर्लाही काँग्रेसका दुवै समूहका नेताहरुलाई सहमतीमा ल्याएर हिजोमात्रै काँग्रेस केन्द्रीय निर्वाचन समितिले सर्लाहीको अधिवेशन गराउन यहीँ घर भएका राउतलाई तेस्रो पटक नयाँ निर्वाचन अधिकृतको रुपमा खटाएको हो ।

यसअघिका दुई जना निर्वाचन अधिकृत दुई समूहको विवादका कारण अधिवेशन गराउन नसकेर फर्किएका थिए । हिजो केन्द्रीय पार्टी कार्यालयमा सहमती गरेर संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहका नेताहरु पनि सर्लाही आइसकेका छन् ।