मुर्तिया एफसीलाई दोस्रो बरहथवा मेयर कपको उपाधि

313

राजु लो तामाङ/ मुर्तिया – सर्लाहीको बरहथवामा सम्पन्न दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि मुर्तिया फूटबल क्लब अर्थात मुर्तिया एफसीले जितेको छ ।

बरहथवा नगरपालिका वडा नं. ९ मुर्तियाको खेल मैदानमा मंगलवार सम्पन्न फाइनल खेलमा नव संघर्षशील युवा क्लब सानो जगतपुरलाई ३–० गोलले पराजित गर्दै मुर्तियाले उपाधि चुमेको हो । बरहथवा नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय मुक्तेश्वर सेवा समितिको आयोजनामा कार्तिक २८ गतेबाट प्रतियोगिता सुरु भएको थियो ।

उपाधि चुम्दै मुर्तिया फूटबल क्लबले नगद ५५ हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा नव संघर्षशील युवा क्लब सानो जगतपुरले नगद २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दै उपविजेतामा चित्ता बुझाएको छ । खेलको म्यान अफ दि म्याच नव संघर्षशीलका सनिल लामा घोषित भएका छन् भने वेष्ट गोल रक्षकमा मुर्तियाका मोहन खड्का घोषित भए ।

यस्तै, मुर्तियाका आयुष राना वेष्ट डिफेन्स, मुर्तियाकै देव गुरुङ वेष्ट मिडफिल्डर, नव संघर्षशीलका मनोज कार्की वेष्ट डिसिप्लिन र मुर्तियाका विमल घिसिङ वेष्ट सिरिज घोषित भए । प्रतियोगितामा १३ वटा टिमको सहभागीता रहेको थियो ।

बरहथवा नगरपालिकाकी उपमेयर सीतादेवी माझीको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगिता समापन समारोहमा बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल, बरहथवा–९, मूर्तियाका वडाध्यक्ष तुलसी लुँईटेल लगायतले पुरस्कार वितरण गरेका छन् ।