सर्लाही कांग्रेसको विवाद समाधान उन्मुख, काठमाण्डौंमा जारी वार्ता सकारात्मक

546

लालबन्दी – तीन दिनदेखि काठमाण्डौंमा रहेका सर्लाहीका कांग्रेसीहरुको वार्ता सकारात्मक रुपमा अघि बढेको छ ।

जिल्लामा पटक–पटक छलफलमा बस्दा समेत अधिवेशनबारे सहमती जुटन नसकेपछि कांग्रेस सर्लाहीको दुवै समूहका नेताहरु वार्ताका लागि केन्द्रीय पार्टी कार्यालय सानेपा पुगेका छन् । सोमवार तेस्रो दिनको वार्ता सकारात्मक रुपमा अघि बढेको दुवै समूहका नेताहरुले बताएका छन् ।

जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीच मुख्यतः मतदान अधिकृत खटाउने विषयमा विवाद देखिएको छ । सोमवारको वार्तामा क्षेत्र नंंं. १ का मतदान अधिकृतलाई क्षेत्र नं. ३ तथा क्षेत्र नं. ३ कालाई १ नम्वर क्षेत्रमा परिचालन गर्ने अनि क्षेत्र नं. २ कालाई ४ मा र ४ नम्वर क्षेत्रका मतदान अधिकृतलाई २ नम्वर क्षेत्रमा खटाउने लगभग सहमती जुटेको पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट वार्तामा सहभागी जिल्ला सचिव नवीन अधिकारीले उज्यालो अभियानलाई जानकारी दिए ।

वडा स्तरमा मतदान अधिकृतका रुपमा शिक्षकहरु खटिने छन् । त्यसैगरी, जिल्ला भरलाई हेर्ने एक जना निर्वाचन अधिकृत र चारवटा निर्वाचन क्षेत्रमा ४ जना निर्वाचन अधिकृत खटाउने विषयमा पनि करिव–करिव सहमती भइसकेको जिल्ला सभापति नागेन्द्र कुमार रायले उज्यालो अभियानसँग नै बताए । लिखित रुपमा सहमती भएपछि निर्वाचन अधिकृत खटाउने गरी तयारी भइरहेको वार्तामा सहभागी भइरहेका नेताहरुले बताएका छन् ।

दुई पक्षबीचको विवादले अधिवेशन गराउन नसकेपछि केन्द्रीय निर्वाचन समितिले यसअघि सर्लाहीमा दुई पटक खटाएको निर्वाचन अधिकृतले राजिनामा दिएर फर्किएका थिए ।