१० औँ कर दिवस सर्लाहीमा पनि मनाइयो

166

मलंगवा – ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि ः सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ वुधवार सर्लाहीमा पनि १० औँ राष्ट्रिय कर दिवस मनाइएको छ ।

दिवसका अवसरमा सदरमुकाम मलंगवामा रहेको करदाता सेवा कार्यालयले वुधवार कार्यालय खुलेपछि पहिलो सेवा लिन आउने एक जना महिला र एक जना पुरुष सेवाग्रहीलाई सम्मान गर्दै दिवस मनाएको छ । त्यस्तै, सेवाग्राहीहरुलाई करदाता शिक्षा समेत प्रदान गरिएको कार्यालयका प्रमुख सुरेन्द्र पाण्डेले जानकारी दिए ।

दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय भएकाले सो अवधिमा करदाता शिक्षा कार्यलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ । यस्तै, लालबन्दीमा रहेको करदाता सेवा कार्यालयले पनि व्यवसायीसँग अन्तक्र्रिया गरेर १० औँ राष्ट्रिय कर दिवस मनाएको कार्यालयका प्रमुख हरेश्वर मिश्रले बताए ।

आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवश मनाउन थालिएको हो । पछिल्ला वर्ष राजस्वको दायरा विस्तार हुँदै गए पनि कर सङकलन लागत घटाउने, चुहावट न्यूनीकरण गर्ने, लगानीमैत्री वातावरणका लागि कर प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ ।

नेपालमा करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साबिकका कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी विक्रम संवत् २०५८ साल बैशाख २ गते कर विभागका रुपमा स्थापना गरिएको हो ।

आन्तरिक राजस्व विभाग अन्तर्गत नेपालमा कुल ८४ वटा कार्यलय छन् । विभागका अनुसार ठूला करदाता र मध्यम स्तरीय करदाता कार्यलय गरी ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय रहेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!