निःशुल्क स्वास्थ्य परीक्षण शिविरबाट १४८ जना लाभान्वित

224

सासापुर, कात्तिक २८ – सर्लाहीको हरिवन नगरपालिका–४, स्थित सासापुर स्वास्थ्य चौकीमा आइतवार आयोजित एक दिने मधुमेह रोग सम्वन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविरबाट १४८ जना लाभान्वित भएका छन् ।

विश्व मधुमेह दिवस २०२१ को अवसरमा हरिवन नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा भएको शिविरबाट सो संख्यामा स्थानीय वासिन्दाले उपचार गराएका हुन् । शिविरमा आएकाहरुलाई चेकअप, ल्याब र औषधि निःशुल्क प्रदान गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार शिविरमा आएका सर्वसाधारणहरुको मधुमेहसँगै आँखाको समेत निःशुल्क परीक्षण गरिएको छ । हरिवनका विभिन्न निजी अस्पतालका विशेषज्ञ चिकित्सकहरुसँग सहयोग मागी स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको हो ।

दिवसमा भाषणभुषण मात्रै गर्नुभन्दा शिविर राख्दा फलदायी हुने ठानेर निःशुल्क स्वास्थ्य परीक्षण शिविर राखिएको स्वास्थ्य शाखाका सहसंयोजक चौधरीले बताएका छन् । शिविर राख्न नेशनल हेल्थ केयर वीरगन्जले निःशुल्क रुपमा औषधि उपलब्ध गराएको थियो ।

हरिवन नगरपालिका–४, का वडाध्यक्ष धनबहादुर वाईबाको अध्यक्षतामा आयोजित शिविर उद्घाटन समारोहमा मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल, हरिवन–६, का वडाध्यक्ष प्रल्हाद बुढाथोकी, कार्यपालिका सदस्य लिली घिसिङ, नगर स्वास्थ्य संयोजक शशीकान्त सिंह लगायतको उपस्थिति रहेको थियो ।