स्व. वडाध्यक्ष सूर्य कुमार श्रेष्ठ स्मृति कपको उपाधि सखुवनीलाई

516
पहिलो पुरस्कार ग्रहण गर्दै सखुवनी युवा क्लबका खेलाडी ।

भक्तिपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा आयोजित स्वर्गिय वडाध्यक्ष सूर्य कुमार श्रेष्ठ स्मृति कप २०७८ को उपाधि सखुवनी युवा क्लबले तिजेको छ ।

वुधवार सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा आयोजक राम जानकी युवा क्लब भक्तिपुरलाई ट्राइब्रेकरमा ५–४ गोलले पराजित गर्दै ईश्वरपुर नगरपालिका–५, मा पर्ने सखुवनी युवा क्लबले उपाधि हात पारेको हो । निर्धारित ७० मिनेट र थप गरिएको १० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटबाट अन्तिम नतिजा निकालिएको आयोजक राम जानकी युवा क्लब भक्तिपुरले जनाएको छ ।

जितसँगै सखुवनीले १ लाख ५ हजार नगदसहित पहिलो शिल्ड, मेडल र प्रमाण पत्र उचालेको छ । उपबिजेता बनेको आयोजक भक्तिपुरले भने ५५ हजार नगदसहित दोस्रो शिल्ड, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको छ । प्रतियोगिताको बिजेता, उपबिजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई प्रतियोगिता समापन समारोहमा ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटा, क्लबका अध्यक्ष सुरेश महतो लगायतले पुरस्कार वितरण गरेका आयोजक क्लबका प्रशिक्षक राज दासले जानकारी दिए ।

केही महिनाअघि निर्मम ढंगले हत्या गरिएका वडा नं. ३ का वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको स्मृतिमा ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा यो प्रतियोगिता आयोजना गरिएको थियो । कात्तिक ६ गतेदेखि सुरु भएको प्रतियोगितामा १९ वटा टिमले सहभागिता जनाएका थिए ।